महाशिवरात्रि मनाइँदै, पशुपतिमा बिहानैदेखि लाखौँ भक्तजन

फाइल तस्बीर

काठमाडौँ । फाल्गुण कृष्ण चतुर्दशीका दिन बिहीबार पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा महाशिवरात्रि पर्व मनाइँदैछ । ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि नै रहेकाले यो समयपछि शिवको आराधना गर्दा उत्तम हुनेछ ।
सामान्य आराधना र स्तुतिबाटै छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवलाई यो दिन प्रसन्न राख्दा इहलोक र परलोक दुवैमा सुख र शान्ति हुन्छ भनिन्छ । आकार निराकार दुवै तवरबाट शिवको आराधना गर्नसकिने पूज्य देवताका रूपमा शिवलाई लिइन्छ । बडादशैँ अघिको कालरात्रि, कृष्ण जन्माष्टमीको मोहरात्रि, लक्ष्मीपूजाको सुखरात्रि र यो महाशिवरात्रिको धार्मिक शास्त्रमा उच्चताका साथ महìव दर्शाइएको छ । रुद्र स्वभाव हुँदा जाडोमा जगत् रुवाउँदै रुखका पतझर उजाड गरेका शिवले महाशिवरात्रिमा पालुवा लागेर जगत्को कल्याण गरेको हुँदा यो पर्व धूमधामका साथ मनाउन थालिएको हो भनिन्छ ।

शिवलाई मनपर्ने पञ्चामृत, बेलपत्र, गाँजा, भाङ, धतुरो अर्पण गरेर खुसी पार्ने प्रयास भक्तजनबाट हुन्छ । धार्मिक आस्थामा यसो भए पनि आयुर्वेद क्षेत्रमा यी पदार्थलाई पाचन प्रणाली सन्तुलन, ज्वरो नासक, पेटमा कृत्रिम रोग निवारण लगायतका औषधीय महìव रहेको बागमती अञ्चल आयुर्वेद औषधालय प्रमुख डा. अञ्जु कार्की बताउनुहुन्छ ।नौलोगाउँ बझाङ, कैलाशमाडौँ बाजुरा, नर्वदेश्वर ओखलढुङ्गा, महोत्तरीको जलेश्वर, भक्तपुरको अनन्त लिङ्गेश्वर, काठमाडौँ डिल्लीबजारको वसन्तेश्वर, जयवागेश्वरीको महामृत्युञ्जय, अमालकोट कचहरीको खञ्जनेश्वर, लुभुको गोभ्रातेश्वर, सुनाकोठीको भृङ्गारेश्वरलगायतका शिवालयमा विशेष उत्सवका साथ यो रात पूजा आराधना हुन्छ ।
पशुपति परिसरको पिण्डेश्वरमा अखण्ड दीपसहित सवा लाख बेलपत्र र पञ्चामृत पूजा आयोजना भएको नाथका कोटवाल पूर्णनारायण जोशी बताउनुहुन्छ ।

पशुपतिनाथमा चारै प्रहर अतिरुद्री, महादीप प्रज्वलन, अखण्ड दीपसहितको दीपोत्सव, लाख बेलपत्र र प्रशस्त पञ्चामृतद्वारा पशुपतिनाथको पूजा गर्ने तयारी भएको छ । यसैगरी महाशिवरात्रि पर्वमा नेवार समुदायमा सिलाचःह्रे मनाउने गरिन्छ । सो दिन बाटो छेक्ने र घरघरमा गएर गीत गाउँदै दाउरा माग्ने चलन पनि रहेको छ । जुन अहिले लोप भइसकेको छ ।

संस्कृतिविद् सत्यमोहन जोशीले महाशिवरात्रि र सिलाचःह्रे भनेको एउटै भएको जानकारी दिँदै यो दिन नेवार समुदायमा शिवको नै पूजा आराधना गर्ने गरिन्छ । उहाँका अनुसार सिलाचःह्रे ‘सि’को अर्थ ‘शिव’ र ‘ला’ को अर्थ महिना हो भने ‘चःह्रे’ को अर्थ चतुर्दशी हुन्छ ।
शिवरात्रिको दिन बिहान गुठीका मान्छेहरू विशेषतः केटाकेटीहरू मिलेर बाटाबाटामा पैसा उठाएर त्यो रकमले साँझमा आगो बाल्ने, मकैलगायतका गेडागुडी भुटेर खाने चलन रहेको भन्दै जोशीले थप्नुभयो, ‘‘यसरी बाटो छेकेर पैसा लिने चलनलाई जगा छेक्ने भनिन्छ । यसरी सबैजना टोल छिमेक तथा गुठीका सदस्यहरू भेला भएर आगो बाल्ने अनि पूजा गर्ने भएकाले सिलाचःह्रे पूजा ‘बालबालिका’ माझ लोकप्रिय छ । ’’
संस्कृतिविद् जोशीले नेवार समुदायको कपाली, दर्शनधारी वा जोगीहरूले पनि जामा पहिरिएर, हारमाला, रुद्राक्ष माला लगाएर, शरीरमा विभूति घसेर, देब्रे हातमा त्रिशूल लिएर, दाहिने हातले डमरु बजाउँदै महादेवको भेष लिएर घरघरमै भिक्षा माग्ने चलन भएको बताउँदै अहिले सो लोप भइसकेको पनि जानकारी दिनुभयो ।

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लाग्यो ।

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन हो । बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरको चारै ढोका खुला हुन्छ । कोरोना भाइरस(कोभिड–१९) सङ्क्रमणबाट बच्न बचाउन मन्दिर प्रवेशका सबै बिन्दुमा सेनिटाइजरको व्यवस्था गरिएको छ ।
पशुपति गुठी गोश्वाराका वरिष्ठ लेखा सहायक युवराज रेग्मीका अनुसार आएका साधु सन्तलाई घण्ट, चमर, राडीपाखी, डमरु, पिताम्बर, शङ्ख तथा उत्कृष्ट साधुलाई एकतारे, हारमोनियम र दानदक्षिणा दिएर बिदाइ गर्ने व्यवस्था भएको छ । सरकारका तर्फबाट प्रदान हुने यी सामग्रीको मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्कल्प भएको थियो । सङ्कल्पलगत्तै त्रिदिवसीय रूपमा सुरु भएको यो पर्व औँसीमा विसर्जन भई साधुलाई यसै दिन बिदाइ गर्ने प्रचलन छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।

तीनवटै बाहिरी लाइनमा भक्तजनको भीड

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल, दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरीरूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।

अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । आवश्यकतानुसार तिलगङ्गा राममन्दिरतर्फ समेत एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन÷तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गरिएको छ ।

बाहिरी तीनै लाइनमा अहिले भक्तजनको भीड लागेको छ । दक्षिणतर्फको लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म, उत्तरतर्फको लाइन गुह्येश्वरी र पश्चिमतिरको लाइन गौशालासम्म पुगेको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनुभयो ।

मूल मन्दिर प्रवेश गर्न मास्क अनिवार्य

कोरोना भाइरसको जोखिम कायमै रहेकाले पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाई आउने भक्तजनलाई फर्काइएको जानकारी पनि उहाँले दिनुभयो । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न पनि कोषले भक्तजनलाई आह्वान गरेको छ ।

कोरोना जोखिमका कारण महाशिवरात्रिका अवसरमा पशुपति आउने साधुसन्त विगतमा भन्दा आधा नै घटेको कोषले जनाएको छ । महाशिवरात्रिमा पशुपति आउने साधुसन्तलाई फाल्गुन कृष्ण एकादशीदेखि नै कोष, गुठी संस्थानको पशुपति गोश्वारा कार्यालयलगायत संस्थाले निःशुल्क भोजन, धुनीलगायत व्यवस्था गर्ने प्राचीन परम्परा छ । आज आठ लाख भक्तजनले पशुपति दर्शन गर्ने कोषले अनुमान गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्