कोरोना महामारीका कारण पछि परेको नेपालको अर्थतन्त्र कोरोना विरुद्धको भ्याक्सिन (कोभिसिल्ड) सार्वजनिक प्रयोगमा आएसँगै त्यसले नेपाली अर्थतन्त्रलाई नयाँ गति दिएको विज्ञहरूले टिप्पणी गरेका छन् ।
काठमाडौँमा आयोजित ‘कोरोनाले थलाएको व्यापार (व्यवसाय र कोभिसिल्डपछी जुरमुर्याएको अर्थतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले यस्तो टिप्पणी गरेका हुन् । साना तथा मझौला व्यवसाय गर्ने व्यवसायीहरूको छाता सङ्गठन फेडेरेसन अफ नेप्लिज स्टार्ट अप्स एन्ड एसएमइज (फोन्सास)ले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रमा रही व्यापार व्यवसाय गरिरहेका व्यवसायी तथा सम्बन्धित क्षेत्रका विज्ञहरूले कोभिसिल्डपछि नेपाली व्यवसायमा नयाँ युग सुरु भएको टिप्पणी गरेका छन् ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै फोन्सासका अध्यक्ष अर्जुन भट्टराईले कोभिसिल्डपछी व्यापार व्यवसाय गर्नेहरूलाई व्यवसाय गर्ने ढुक्कको वातावरण धारणा राखेका छन् । कोरोनाका कारण थुप्रै व्यवसाय बन्द हुने अवस्थामा पुगेको बेला कोभिसिल्डले नेपाली व्यवसायहरूलाई नयाँ जीवन दिएको उनको तर्क थियो । ‘कोभिसिल्ड आएपछि अहिले सबैतिर ढुक्कको वातावरण बनेको छ । कोरोनाले सिर्जना गरेको ठुलो त्रासलाई अहिले कोभिसिल्डले मारेको छ । सटिक रूपमा भन्दा कोभिसिल्ड व्यवसायीहरूका लागि मात्र होइन व्यवसायको समेत औषधि बनेको छ ।’ उनले भने ।
कार्यक्रममा बोल्दै प्रोफेसर डाक्टर नवराज पन्तले कोभिसिल्डपछी नेपाली अर्थतन्त्रले नयाँ लय समातेको दाबी गरेका छन् । लामो समय कोरोनाका कारण थालिएको अर्थतन्त्र कोभिसिल्डपछी थप मजबुत हुने आशा व्यक्त गर्दै उनले कोरोनाविरुद्ध खोप मानिसहरूका लागि मात्र नभई व्यवसायका लागि पनि निकै प्रभावकारी रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ, काठमाडौँ जिल्ला समितिका अध्यक्ष शन्ताराम बिडारीले सरकारले प्राथमिकताका आधारमा पत्रकारहरूलाई कोभिसिल्डको उपलब्ध गराउनु निकै खुसीको कुरा भएको र यसले फ्रन्टलाइनमा रहेर काम गर्ने पत्रकारहरूलाई नयाँ ऊर्जा दिएको बताएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल पूँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेलले कोभिसिल्ड आएपछि व्यापार व्यवसाय गर्ने ढुक्कको वातावरण बनेकाले नेपालको सेयर बजार अझ सुदृढ हुने विश्वाससमेत व्यक्त गरेकी छिन् । कार्यक्रममा बोल्दै वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एवम् नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्घ ९एक्यान०का पूर्व अध्यक्ष हरि सिलवालले कोभिसिल्डले सबै व्यापार व्यवसायीहरूलाई नयाँ र बलियो आत्मविश्वास दिएको बताएका छन् ।
कार्यक्रममा बोल्दै विभिन्न बक्ताहरुले निकै प्रभावकारी खोप भएकाले यसलाई सकेसम्म छिटो सबै नेपालीमाझ पुर्याउनुपर्नेतर्फ जोड दिएका छन् ।
साना तथा मझौला व्यवसायीहरूको सङ्गठन फोन्सासले साना तथा मझ्यौला व्यवसाय तथा व्यवसायीहरूले भोग्दै आएका समस्या, यसका समाधान र र वर्तमान अर्थ व्यवस्थाबारे विभिन्न अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ ।