माघ २३ मा नेकपा ओली पक्षको जनसभाः तयारीमा जुटे जनसङ्गठन

File Photo

काठमाडौं – नेकपा केपी ओली पक्षको वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौँमा आयोजना गर्ने जनसभाको तयारीका लागि पार्टीका सबै जनसङ्गठन परिचालित भएका छन् । प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा राजनीतिक घटनाक्रमबारे सन्देश दिन काठमाडौँमा पहिलोपटक हुन लागेको सभा सफल बनाउन युवा, विद्यार्थी, किसान, महिला, बुद्धिजीवी, प्रेस, शिक्षक, अपाङ्गतालगायत पेशा र क्षेत्रका जनसङ्गठनलाई परिचालन गरेको हो । ती सङ्गठनको केन्द्रीय नेतृत्वले सभामा उपस्थिति बढाउन र प्रचारप्रसार गर्न आफ्नातर्फबाट कार्ययोजना बनाई व्यवस्थितरुपमा काम शुरु गरेका छन् ।

ती सङ्गठनले सो दिन काठमाडौँका माइतीघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत विभिन्न तोकिएका स्थानमा भेला भई आफ्नो ब्यानर र झाँकीसहित उपस्थिति जनाउने प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए । उनले काठमाडौँ उपत्यका र प्रदेशका जिल्लाबाट उत्साहजनक तयारी देखिएकाले जनसभा विशेष हुने अपेक्षा आफूहरुले गरेको बताए ।

नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले प्रतिनिधिसभाको विरोधमा कार्यक्रम गरिरहेकाले यसबारे वाग्मती प्रदेश र काठमाडौँ उपत्यकाका कार्यकर्ता, समर्थक र जनस्तरमा धारणा स्पष्ट गर्न नेकपाले सभाको आयोजना गरेको हो ।

हाल नेकपाका २१ जनसङ्गठन छन् । ती सङ्गठनमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी सङ्गठन, युवा सङ्घ नेपाल, अखिल नेपाल महिला सङ्घ, ट्रेड युनियन महासङ्घ नेपाल, नेपाल बुद्धिजीवी सङ्गठन, प्रेस सङ्गठन नेपाल, पेशागत महासङ्घ नेपाल, जनसांस्कृतिक महासङ्घ नेपाल, नेपाल मुस्लिम सङ्गठन, नेपाल दलित मुक्ति सङ्गठन, आदिवासी जनजाति महासङ्घ, खेलकूद महासङ्घ नेपाल, उद्योग व्यवसायी महासङ्घ, प्रवासी नेपाली मञ्च (भारत), नेपाल भूमिहीन सुकुम्बासी सङ्गठन, भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन, मानवअधिकार तथा सामाजिक अभियान नेपाल, नेपाल कानून व्यवसायी सङ्गठन, नेपाल निर्माण व्यवसायी सङ्गठन र नेपाल इञ्जिनीयर सङ्गठन छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालले आज काठमाडौँका विभिन्न स्थानबाट करिब १० हजारको सङ्ख्यामा मोटरसाइकल र्यालीको आयोजना गर्ने तयारी गरेको छ । मध्यान्ह १२ बजे ललितपुरको बालकुमारीबाट शुरु हुने र्याली सातदोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, थापाथली, त्रिपुरेश्वर, एनएसी, जमलचोक, दरबारमार्ग, नारायणहिटी, जयनेपाल हल, कमलपोखरी, रातो पुल, गौशाला, अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तीनकुने पुगेर सभामा परिणत हुने जनाइएको छ ।

अखिल नेपाल किसान महासङ्घले यही माघ २२ गते राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ । नेपाल इञ्जिनीयर सङ्गठनले पनि राष्ट्रिय भेला सम्पन्न गरिसकेको छ । सभामा काठमाडौँका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने तयारी भएको छ । ती जिल्लाका सम्पर्क मञ्च पनि तयारीमा जुटेका छन् ।

प्रदेश कमिटीले आजै प्रदेशबाट केन्द्रीय सदस्य रहेका र अगुवा कार्यकर्ताको बैठक आयोजना गरिएको र प्रचारप्रसारका कार्य व्यवस्थितरुपमा अघि बढेको वाग्मती प्रदेश कमिटीका प्रचार विभाग सचिव धु्रव घिमिरेले जानकारी दिए । सो कमिटीले लतिलपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सचिवालय स्थापना गरी सभाको तयारी गरिरहेको छ ।

काठमाडौँको ट्राफिक आवागमनलाई सहजतासमेत तुल्याउन आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको छ । सभामा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभाका सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गराइनेछ ।

विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता आरसी लामिछानेले प्रदर्शनीमार्गका क्याम्पसमा सञ्चालित परीक्षामा सहभागी हुने परीक्षार्थीलाई कुनै बाधा नहोस् भन्ने पक्षलाई ध्यान दिएर नयाँ स्थानमा जनसभा तय गरिनु सकारात्मक भएको बताए । उनले काठमाडौँको ट्राफिक व्यवस्थापनका लागि नयाँ स्थान चयनले सहयोग गर्ने जनाउँदै आफूहरुले प्रदर्शनीमार्गमा हुने प्रदर्शनबाट परीक्षा र पठनपाठनमा अवरोध गर्ने भएकाले खुल्लामञ्च र आसपासका क्षेत्रमाम सभासम्मेलन नगर्न आफूहरुले पार्टीको नेतृत्वलाई ध्यानाकर्षण गराउँदै आएको पनि बताए ।

सभा सफलतापूर्वक सम्पन्न गर्न नेकपा काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ । गत पुस ५ गते प्रतिनिधिसभा विघटन भई आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन तोकिएपछि नेकपाले चुनाव केन्द्रित गतिविधि अघि बढाएको हो । सो विषय हाल सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधीन छ भने निर्वाचन आयोगले निर्वाचनको तयारी शुरु गरिसकेको छ ।

नेकपाले देशभर सबै तहका कमिटी र सङ्गठनको पुनःगठनलाई पनि तीव्रता दिएको छ । वाग्मती प्रदेशका अधिकांश जिल्ला पुनःगठन भइसकेका छन् । जनसभाकै पूर्वसन्ध्यामा प्रदेशको चितवन र नुवाकोटमा जिल्लास्तरका सभा भइसकेका छन् । सो प्रदेश कमिटीको यही माघ ६ गतेको बैठकले कमिटी पुनःगठन गरी सचिव आनन्दप्रसाद पोखरेललाई अध्यक्ष र निवर्तमान सांसद खेमप्रसाद लोहनीलाई सचिवमा चयन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्