काठमाडौँ – नियुक्त भएको डेढ महिना नबित्दै वनमन्त्री प्रेम आले र वन सचिव डा. विश्वनाथ ओलीबीच टकराव सुरु भएको छ ।
वन मन्त्रालय स्रोतका अनुसार वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेजीलगायत विषयमा मन्त्री र सचिवबीच द्वन्द्व सुरु भएको हो ।
मन्त्री आलेले बिहीबार पत्रकार सम्मेलन गरी वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेजीको घोषणा गरेका थिए ।
वन सचिव ओली, मन्त्रालयका प्रवक्ता प्रकाश लम्साललगायत उच्च कर्मचारीहरुले सो सम्मेलनमा बहिष्कार गरेका थिए ।
मन्त्री आलेले पत्रकार सम्मेलन गरिरहेका बेला ओली आफ्नै कार्यकक्षमा थिए । यसैगरी प्रवक्ता लम्साललगायत अन्य उच्च अधिकारी पनि आफ्नै कार्यकक्षमा थिए । कार्यक्रममा मन्त्रीका राजनीतिक सल्लाहकार सोमबहादुर थापाले सञ्चालन गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।