प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले घोषित मिति तलमाथि नपर्ने बताउनुभयो ।
कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै उहाँले चुनावको विरोध गर्नेहरु आँफै अल्मलिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले कुनै गल्ती नगरीकन जनता र देशका निम्ति काम गर्ने प्रतिनिधिहरुलाई अबको चुनावमा छान्न आग्रह पनि गर्नुभयो ।
देशको, राष्ट्रियताको र स्वाधिनताको रक्षा सही अर्थमा आफू र आफ्नो पार्टीले गर्ने भन्दै उहाँले आत्मविश्वासका साथ देश विकास गर्ने महान अभियानमा आफूहरु जुटेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभा विघटन संवैधानिक रहेको बताउनुभयो । उहाँले आफूहरु गुटको पक्षमा नभएर पार्टीको पक्षमा रहेको बताउँदै पार्टीले अहिले शुद्धिकरण अभियान अघि बढाएको र पार्टीभित्र अवसरवाद, विकृति विरुद्धको शुद्धिकरण भईरहेको बताउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समृद्द नेपाल सुखी नेपालीको अभियान शुरु भईसकेको बताउँदै देश विकासका लागि ठूलाठूला योजना शुरु गरिएको जानकारी दिनुभयो । देशमा प्रतिदिन दुई किलोमिटर नयाँ सडक बनिरहेको भन्दै उहाँले देशभर १० वटा पुल बन्न लागेको बताउनुभयो ।
कार्यक्रममा शहरी विकास मन्त्री प्रभु साहले चितवनलाई समृद्धिको नमूनाको रुपमा विकास गरिने बताउनुभयो । चितवनको छुट्टै पहिचान रहेको बताउँदै उहाँले नेपालको समृद्धिको यात्रामा पनि यसलाई नमूनाको रुपमा अगाडि बढाउने बताउनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले, नेकपा बागमती प्रदेश कमिटी अध्यक्ष एवं पूर्व मन्त्री आनन्द पोखरेल, भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष एवं नेकपा केन्द्रीय सदस्य देवीप्रसाद ज्ञवाली लगाएतले सभालाई सम्बोधन गर्नुभएको थियो ।(






