काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दुःख गरी बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको घर नेकपाभित्रको झगडाले भत्काइदिएको बताउनुभएको छ ।
नेकपाभित्रको विवादतर्फ लक्षित गर्दै भट्टराईले ठूलो कोठामा सुत्ने झगडाले घरमै आगो लगाइदिएको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गर्नुलाई उनले ‘आगो लगाएको’ रूपमा उल्लेख गर्नुभएको छ । संघीयतामाथि नै खतरा उत्पन्न गराउन खोजिएकोमा पनि उहाँको चिन्ता छ ।
आइतबार उहाँले ट्वीट गर्नुभएको छ, ‘एक आर्किटेक्टको अनुभूतिःजिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो,’ ‘सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो । केही कुपुत्ररकुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए।’ उहाँले घरझगडामा छिमेकी भने रमिते बनेको बताएका छन् । ‘केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिँदैछन् । छिमेकी रमिते! लौन आगो निभाऊ’ उहाँले भन्नुभएकाे छ ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गर्नुभएको थियाे । उक्त कदमको जसपाले विरोध गर्दै आइरहेको छ । प्रतिनिधि सभा अहिले पनि जिवन्त रहेको भन्दै जसपाले सभामुखलाई बैठक राख्नसमेत यसअघि भेटेर आग्रह गरेको थियो ।
एक आर्किटेक्टको अनुभूति:जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो!सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो।केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए!केही सन्तान आगो निभाउनु सट्टा खरानीकोलागि दौडिदैछन्।छिमेकी रमिते! ळौन आगो निभाऊॅ!
— Baburam Bhattarai (@brb1954) January 3, 2021