काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
घोषित आन्दोलनको कार्यक्रमअनुसार पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला तथा संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । सँगसँगै प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति पनि गठन गरिनेछ ।
यस्तै पुस २१ गते संघीय राजधानी र देशका विभिन्न शहरहरुमा राजनीतिक पार्टीहरुसँग प्रधानमन्त्री केपी ओलीको कदमको विषयमा अन्तर्क्रिरया कार्यक्रम गरिनेछ ।
यस्तै २३ गते नागरिक समाजसँग अन्तरक्रिया गरिनेछ भने २४ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाइनेछ ।
यस्तै पुस २६ गते सडक संविधान बाचन–ब्याख्या कार्यक्रम गरिनुका साथै पुस २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँ तथा टोलसम्म कालोझण्डा गाड्नेलगायतका विरोधका कार्यक्रम राखिएको छ ।
यसैगरी पुस २९ गते निर्वाचनस्तरीय भेला, ३० गते सबै वडाहरुमा विरोध प्रदर्शन, माघ ५ गते पालिकाहरुमा विरोध प्रदर्शन र १० गते काठमाडौं उपत्यकालगायत देशभरका सहरी क्षेत्रमा मोटरसाइकल र्याली निकालिने छ ।
यस्तै माघ १६ र १७ गते सबै प्रदेशमा विरोध सभा राखिएको छ भने २२ गते देशव्यापी मसालजुलुस गरिनेछ भने माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गरिनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समूह सडकमा आएको छ ।