सुशील सुवेदी, सिन्धुपाल्चोक
वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले रोजगारमूलक प्राविधिक तथा आधुनिक शिक्षामा प्रदेशले जोड दिएको बताउनुभएको छ । उहाँले सीपमूलक र स्वदेशमै बसेर रोजगार, व्यवसाय गर्न सक्ने शिक्षाको विकास गर्न तीनै तहको सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । हेलम्बु गाउँपालिका वडा नं. ३ ककनीको पाल्चोक माविको चारकोठे भवन उद्घाटन गर्दै आज उहाँले यस्तो बताउनुभएको हो ।
तीनै तहका सरकार आफ्नो नीति निर्माण गरी त्यसमार्फत भौतिक पूर्वाधारसँगै शिक्षक व्यवस्थापन, पाठ्यक्रम निर्माण, गुणस्तरीय शैक्षिक सामग्री निर्माणमा लागेकाले चाँडै नै झोलामा सर्टिफिकेट बोकेर भाँैतारिने दिनको अन्त्य हुने मन्त्री दुलालले बताउनु भयो । प्रदेश शिक्षा नीति मस्यौदा अन्तिम चरणमा रहेको र यसले गुणस्तरीय पूर्वाधार, शिक्षक, पाठ्यक्रम र विद्यार्थी उत्पादनमा सघाउ पुर्याउने बताउनु भयो । उहाँले शिक्षकको क्षमता वृद्धिका लागि प्रदेशले तालिमको व्यवस्था गर्ने पनि जानकारी दिनुभयो ।
कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले शिक्षक दरबन्दी कम हुँदा र भौगोलिक हिसाबले कठिनाइ रहेकाले गुणस्तरीय शिक्षा प्रदानका लागि समस्या रहेको बताउनुभयो । उहाँले गाउँपालिकाले शिक्षक कर्मचारीलाई थप सेवा सुविधा प्रदान गरिरहेको जानकारी दिँदै प्रदेश र संघ सरकारले शिक्षामा अझै लगानी बढाउनु पर्नेमा जोड दिनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाइको ७० लाख लागतमा चारकोठे भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक नेत्र भुजेलले जानकारी दिनुभयो । यसअघि कारितास स्विट्जरल्याण्डमार्फत १२ कोठे भवन निर्माण सम्पन्न भइसकेको छ भने अर्को चारकोठे भवन र शौचालय निर्माण अन्तिम चरणमा रहेको प्र।अ। भुजेलले बताउनु भयो । नयाँ बनाइएको आठ कोठा विद्यालयको होस्टेलका लागि प्रयोग गरिने छ ।
भवन उद्घाटन कार्यक्रममा मेलम्ची खानेपानी बोर्ड सदस्य चन्द्रबहादुर थापा, नेकपा नेता चिरञ्जीवी आचार्य, हेलम्बु ६ का अध्यक्ष खेतनाथ घिमिरे लगायत उपस्थित हुनुहुन्थ्यो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नोर्साङ लामाको सभापतित्वमा सम्पन्न भएको हो ।