पर्वतको महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु भएको छ । रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार बनेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यस्तो कार्यक्रम शुरु गरेको हो । गाउँमै स्वरोजगार सिर्जना गर्ने र सोही पेशाबाट आत्मनिर्भर बन्न सकुन् भन्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि गाउँ फर्क प्याराप्यारी कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।
त्यसैगरी गाई, भैँसी न्यूनतम तीन वा सोभन्दा माथि, कुखुरा ५०० वा सोभन्दा माथि, बङ्गुर ३० वा सोभन्दा माथि, फलफूल तथा तरकारी खेती तीन रोपनी क्षेत्रफल वा माथि हुनुपर्ने छ । पालिकाले अधिकतम रु तीन लाखको १२ प्रतिशतको दरले अधिकतम दुई वर्षको अवधिका लागि ब्याज रकम अनुदान भुक्तानी दिने भएको छ । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन भएको गाउँपालिकाका प्रवक्ता उच्चैले जानकारी दिए । यस वर्ष ३० देखि ५० युवायुवतीलाई यो कार्यक्रममा समावेश गर्ने गरी आवेदन माग गरिएको समेत उनले बताए ।
यसैबीच गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै पेशा व्यवसाय गर्न इच्छुक युवायुवतीलाई १५ दिनभित्र आवेदन दिन माग गरेको छ । विशेषगरी कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती यो कार्यक्रमबाट लाभान्वित हुने पालिकाको विश्वास छ । विदेश गएका तर गतिलो कमाइ गर्न नसकेकासमेत यो कार्यक्रमपछि गाउँ फर्कने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले यसअघि ‘एक घर एक रोजगार’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोअन्तर्गत ६०० भन्दा बढीले रोजगारीसमेत पाइसकेका छन् । स्वयंसेवकको रूपमा रहेका उनीहरुले गाउँपालिकाभित्र सडक, साना सिँचाइ, स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका क्षेत्रमा काम गर्दै आएका छन् । उक्त कार्यक्रमले पनि रोजगारविहीन विपन्न नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण बनेको गाउँपालिकाका अध्यक्ष पौडेलले बताए।
-रासस