म्याग्दीको मालिका गाउँपालिकामा पहिरोको जोखिममा रहेको २० बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ । पालिका स्तरीय विपद् व्यवस्थापन समितिले जोखिममा परेका ति बस्तीको पहिचान गरी जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश र सङ्घीय सरकार समक्ष स्थानान्तरणका लागि सिफारिस गरेको हो । गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक, रेडक्रसकर्मी र सुरक्षाकर्मीको संयुक्त टोलीले पहिरो, कटान र बाढीले क्षति पु¥याएका बस्तीको स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार पारेको प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले जानकारी दिए ।
जमिन धाजा फाटेर चिरा परेका र पहिरो नजिकै भएका बस्तीमा रहेका घरलाई थप क्षति हुन नदिन तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सिफारिस गरिएको उहाँले बताउनुभयो । मालिका–५ जुग्जामा पूर्ण क्षति भएका २० घर र आंशिक क्षति भएका २९ घर, सोही वडाको तल्लो भेगका १० घर, घरथोकको तल्लो भेगका ४ घर, ओखलढुङ्गाको १३ घर, मगरदाङको तल्लो भेगका ५ घर, पन्थोकको ११ घर तथा न्याबोटका दुई घर स्थानान्तरणका लागि सिफारिस गरिएको छ ।
यस्तै मालिका– ७ बिमका पूर्ण क्षति भएका ३४ घर र आंशिक क्षति भएका १७ घर तथा बिमको नौरुङ, कुटवाङ, नराले, ओखरढुङ्गा, नौमाने, काउरा, बन्सार, गौरीखेत र अर्कलाका झण्डै ८० परिवारलाई स्थानान्तरण गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । गत असार २५ र २६ गतेको पहिरोले बिममा ८ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए ।
यसैगरी वडा न २ रुमको तल्लो बेलिकाका सात तथा नरेनचौरका चार, वडा नं ३ किटिनीका एक घर, वडा नं ४ ओखरबोटको ८ र वडा नं ९ को तल्लो भेग, वडा नं ६ दरवाङको साउबोट र लामेलाको बस्ती पनि स्थानान्तरण गर्नुपर्नेमा सूचिकृत गरिएको छ । पहिरोले पालिकाभर ६७ घर पूर्ण तथा ५२ घर आंशिक रुपमा क्षति भएका छन् । यस्तै ३१ सडक, ३२ खानेपानी आयोजना, १० सिँचाइ आयोजना, आठ लघुजलविद्युत् आयोजना, पाँच विद्यालय रतथा एउटा सामुदायिक भवनमा क्षति पुगेको थियो । बस्ती स्थानान्तरणका लागि प्रदेश र सङ्घीय सरकारसँग बजेट तथा योजना प्रस्ताव गरी पठाएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । रासस