बैतडी – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ । यस्तै देहिमाडौँ बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको छ । पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुईदिनका लागि सिल गर्ने निर्णय गरेको हो ।
शनिवार बिहान १० बजेदेखि आइतबार अपरान्ह ४ बजेसम्म पाटन बजार क्षेत्र सिल गर्ने निर्णय भएको हो । पाटनस्थित उदयदेव मन्दिरमा लाग्ने महाअष्टमी र महानवमीमा बलिसहित लाग्ने मेलालाई मध्यनजर गरेर बजार क्षेत्र सिल गर्ने निर्णय भएको नगरप्रमुख चन्दले बताउनुभयो । यो वर्ष कोरोनाको जोखिमका कारण बलिमा रोक लगाइएको हो । उक्त निर्णयको कसैले उल्लंघन गरेमा ५ हजार जरीवाना गर्ने निर्णय समेत भएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार नै बलिमा रोक लगाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो । यसैबीच दशरथचन्द नगरपालिका २ स्थित देहिमाडौँ बजार दुई दिनका लागि बन्द गरिएको छ । यसका साथै सवारी आवागमनमा रोक लगाईएको छ ।
महाअष्टमीका दिन जिल्लाकै सबैभन्दा बढी बलि हुने देहिमाडाँैस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा हुने मेला, जात्रा तथा बलि हुने भएकोले भीडभाड कम गर्न बजार बन्द र सवारी अवागमनमा रोक लगाएको हो ।
वडा कार्यालयले एक सूचना प्रकासित गरेर शुक्रबार र शनिवार बजार बन्द गर्नुका साथै शनिवार बजारमा सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको वडा अध्यक्ष रनबहादुर बोहराले बताउनुभयो ।
महाअष्टमीको दिन शनिवार देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा हुने बलिसहितको जात्रामा भीडभाडमा रोक लगाउन सशस्त्र प्रहरी र नेपाली प्रहरी परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यस्तै मेला अवधिमा कसैले मदिरा सेवन गरी होहल्ला गरेको पाईएमा ५ हजार जरीवाना, कसैले मदिराको बिक्री वितरण गरेको पाइएमा १० हजार जरीवाना र कसैले जुवातास खेलेको अथवा खेलाइएको पाइएमा ५ हजार जरीवाना गरिने सूचनामा उल्लेख गरिएको छ ।
यसअघि जिल्ला सुरक्षा समिति र कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा हुने सबै प्रकारका जात्रा, मेला, बलि तथा भीडभाड हुने क्रियाकलापमा रोक लगाउने निर्णय गरिसकेको छ । यसका साथै जिल्लाका अन्य शक्तिपीठमा पनि भीडभाड हुने गरी पूजाआजाका कार्यक्रम नगर्न अनुरोध गरिएको छ । बैतडीमा दशैंतिहारको बेला सुदूरपश्चिम प्रदेशकै बढी पशुबलि हुने गर्दछ ।