हेटौंडा – वाग्मती प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या देखिएको छ । मन्त्रालयका अनुसार विभिन्न पदमा विभिन्न सेवा, समूह र उपसमूह तर्फका गरी कूल ५५ कर्मचारीको दरबन्दी रहे पनि हाल ३४ जनामात्र कर्मचारी कार्यरत छन् । दरबन्दीअनुसार कर्मचारी नहुँदा थोरै कर्मचारीले कार्यालयको सबै काम सम्पादन गनुपर्दा समस्या भएको मन्त्रालयका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए ।
मन्त्रालयका अनुसार हाल इन्जिनीयरतर्फ विभिन्न सेवा, समूह र उपसमूहमा गरी १६, शाखा अधिकृत तीन, सिनियर डिभिजन इन्जिनीयर (सिभिल) एक र उपसचिव (सामान्य प्रशासन) तर्फ एक गरी कूल २१ कर्मचारी रिक्त छन् ।
प्रदेश लोकसेवा आयोगसँग थप कर्मचारीको व्यवस्थापनका लागि माग गरिएको मन्त्रालयले जनाएको छ । यद्यपि तत्कालका लागि करारमा भए पनि केही कर्मचारी माग गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयका सूचना अधिकारी पोखरेलले जानकारी दिए । रासस