काठमाडौ उपत्यकामा मात्र हालसम्म कोरोना भाइरस [कोभिड १९] सङ्क्रमितको सङख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा सङ्क्रमण देखिएको बताए ।
देशभरमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको छ । तिमध्ये १० हजार सङ्क्रमित काठमाडौ जिल्लाका रहेका छन । काठमाडौ जिल्लामा महिला तीन हजार ३०२ र पुरुष छ हजार ७२४ जना रहेका छन् ।
यस्तै ललितपुरमा एक हजार १९१ जनामा ५४१ महिला र ६५० पुरुष तथा भक्तपुरमा एक हजार ३१ जना सङ्क्रमितमा ४२८ जना महिला र ६०३ पुरुष छन । पछिल्लो पटक बन्दाबन्दी खुकुलो भएसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । अहिले दैनिक ४०० को हाराहारीमा उपत्यकामा सङ्क्रमित बढ्न थालेका छन् । आजैमात्र उपत्यकामा ५१२ जना सङ्क्रमित फेला परेका छन । काठमाडौमा ४८०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना सङक्रमित फेला परेका छन ।
१८ जिल्लामा एक हजार भन्दा बढी सङ्क्रमित
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखका अनुसार एक हजार भन्दा बढी सङ्क्रमित हुने जिल्ला उपत्यकासहित १८ वटा छन । काठमाडौ जिल्लापछि पर्सामा सवभन्दा बढी सङ्क्रमित देखिएका छन ।
पर्सामा दुई हजार ५४४, सर्लाहीमा दुई हजार २७९, मोरङमा दुई हजार २६७, रौतहटमा दुई हजार ९, कैलालीमा एक हजार ९९०, धनुषामा एक हजार ९०३ र रुपन्देहीमा एक हजार ७८४ जनामा सङ्क्रमण देखिएको छ ।
यस्तै बाँकेमा एक हजार ४५०, महोत्तरीमा एक हजार ४२३, चितवनमा एक हजार ३४४, सुनसरीमा एक हजार ३१६, कपिलवस्तुमा एक हजार २७७, बारामा एक हजार २३७, दैलेखमा एक हजार ९९ र डोटीमा एक हजार २० जना रहेका छन् । नेपालमा अहिलेसम्म कुल ३९ हजार ५७६ जना डिस्चार्ज भएका छन् ।