काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय र शाखा कार्यालयमा १ लाख क्विन्टल चामल खरिद गरी भण्डारण गर्ने क्रममा कमिसन र सेटिङका लागि कर्मचारीलाई सरुवा गरेको छ ।
कम्पनीका अनुसार महाप्रबन्धक ज्ञवालीले चामल खरिद गर्दा सेटिङ मिलाउनकै लागि केही दिनअघि मात्रै शभु रेग्मीलाई सोलुखुम्बुको शाखा कार्यालयबाट लहानको मुख्य शाखा कार्यालयमा सरुवा गरेका छन् । लहानको मुख्य शाखा कार्यालयमा कार्यरत गंगाप्रसाद साहलाई जनकपुर कार्यालयमा सरुवा गरिएको छ ।
जनकपुरमा कम्पनीको आफ्नै मिल छ । त्यहाँ अहिले कुनै खरिद कारोबार नहुँदा शाहलाई जनकपुरमा पठाएर लहानमा चामल खरिद प्रक्रिया सुरु भएकाले कमिसन सेटिङका लागि रेग्मीलाई लहानको मुख्य शाखा कार्यालयको प्रमुखको जिम्मेवारी दिएर पठाइएको छ । लहानमा अहिले कम्पनीले ७ करोड २७ लाख १३ हजार रुपैयाँ लगानीमा १४ हजार ५ सय क्विन्टल चामल खरिद गरिसकेको छ । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।