काठमाडौं – सन्दीप लामिछाने आवद्ध जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ ।
जमैकाका लागि नक्रुम बोनरले पारी सम्हाल्ने प्रयास गरे । उनले ४२ बल खेल्दै पाँच चौकाको मद्दतमा सर्वाधिक ४१ रनको योगदान दिए। जमैकाको स्कोर ६३ रन छँदा उनी आउट भए । लगत्तै भरपर्दा खेलाडी आन्द्रे रसेल पनि पवेलियन फर्किए । उनले पाँच बल खेल्दै मात्र दुई रन बनाए । रसेललाई सुनिल नराइनेले ड्वाने ब्राभोको हातबाट क्याच आउट गराए । त्यसपछि केही बेर जमैकाको पारी कप्तान रोभमन पावेलले सम्हाले । उनले एक छक्का र एक चौकाको मद्दतमा ३५ बलमा ३३ रन बनाए। उनलाई खेइरे पियरेले जमैकाको स्कोर ९३ रन छँदा पवेलियन फर्काए । जमैकाले सात विकेटको क्षतिमा १०७ रन मात्र बनाउन सक्यो ।
बलिङतर्फ नाइट राइडर्सका लागि अकिल हुसैनले तीन, खेइरे पियरेले दुई तथा सुनिल नराइने र फवाद अहमदले एक एक विकेट लिए ।
एक सय आठ रनको झिनो स्कोर पछ्याउने क्रममा नाइट राइसर्डले १५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । उसका लागि लेन्डले सिमोन्सले अविजित ५४ तथा टिवन वेवस्टारले अविजित ४४ रनको पारी खेले । जमैकाका बलरहरू नाइट राइसर्डका खेलाडीका अगाडि निरिह सावित भए । सीपीएलमा उत्कृष्ट लयमा रहेका जमैकाका मुजिबउर रहमानले मात्र एक विकेट लिए । उनले सुनिल नराइनेको विकेट लिएका हुन् । योसँगै रहमान प्रतियोगितामा सर्वाधिक १८ विकेट लिने खेलाडी बनेका छन् ।
प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै आएका लेग स्पिनर सन्दीप लामिछाने भने नाइट राइसर्डसितको खेलमा विकेटविहीन भए । यसअघि सन्दीपले समूह चरणका खेलमा १२ विकेट लिएका थिए ।