भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल गरेको छ । कोरोना सङ्क्रमणबाट निको भएकाले गम्भीर सङ्क्रमितहरुका लागि रक्तदान गर्न अपिल गरिएको हो । कोभिड सङ्क्रमित भई आइसोलेसनबाट निको भएकाले १४ दिनपछि रगत दिन सक्छन् । अस्पतालले प्लाज्मा थेरापीबाट सङ्क्रमितको उपचारका लागि तयारी गरिसकेको छ । कोरोनाभाइरस सङ्क्रमित केही व्यक्ति उक्त विधिबाट उपचार गराई निको भएपछि यो विधिबाट उपचार गर्न देशका विभिन्न अस्पताललाई सरकारले अनुमती दिएको छ ।
क्षेत्रीय रक्तसंचार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले दाताहरु रक्तदानका लागि इच्छुक रहेको बताए । उनले आज मात्रै माडीका ३ जनाले रक्तदान गर्ने जानकारी दिए । भरतपुर अस्पतालले डा सापकोटाको संयोजकत्वमा प्लाज्मा थेरापीका लागि समितिसमेत बनाएर काम गरिरहेको छ । आवश्यकता र रगतको मौज्दातको आधारमा रगत सङ्कलन गरिने अस्पतालमा प्लाज्मा थेरापीका लागि सम्पर्क व्यक्ति गोपालप्रसाद पौडेलले जानकारी दिए ।-रासस