तनहुँको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई गत साउन २८ गते कोरोना सङ्क्रमण भयो । साउन २२ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गराएका पौडेलको कोरोना पोजिटिभ देखिएको थियो ।
कोभिड–१९ को जोखिम दिनप्रतिदिन बढ्दै गएकाले सजग हुनुपर्ने पौडेलको सुझाव छ । “हिँडडुल गर्दा, अरुसँग उठबस गर्दा कोरोना सर्ने भएकाले भौतिक दूरी कायमै गर्नपर्छ”, उनले भने, “अहिलेको अवस्थामा बाहिर नहिँडेर घरमै बस्दा सुरक्षित हुन्छ ।” सोही दिन कोरोना सङ्क्रमित भएका देवघाट गाउँपालिका–५ का ३० वर्षीय पुरुष पनि कोरोनामुक्त भएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिए।
देवघाटका समुदायका दुई व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिलो चरणमा ३८ र ४३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । त्यसमध्ये देवघाट–५ का २७ वर्षीय स्थानीयवासीमा बुधबार कोरोना सङ्क्रमण भएको छ ।
रासस