कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
घरआँगनमै बसिरहेका बेला स्थानीय दीपक ओड र कालु ओडलगायतले वडा सदस्य ताम्राकारलाई शुक्रबार राति ११ बजे अपशब्द बोल्दै हातपात गर्ने प्रयास गरेका थिए । अपशब्द प्रयोग गरी हातपातको प्रयास गर्नेमध्येका २७ वर्षीय कालु ओडलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले बताए ।
अर्का दीपक ओड फरार रहेकाले खोजी भइरहेको उनले बताए । रातिको समयमा मदिरा सेवन गरी वडा सदस्य ताम्राकारको घरमै गएर दुवै जनाले गालीगलौज गर्नुका साथै हातपात गर्ने प्रयास गरेको बुझिएको छ । प्रहरी निरीक्षक धामीले भने, “गालीगलौज गरी अभद्र व्यवहार गर्नेमाथि कानूनअनुसार कारवाही हुन्छ ।”
रासस