काठमाडौँ – लकडाउन खुलेसँगै काठमाडौंँ उपत्यकासहित देशभर कोरोना संक्रमण बढेको छ । संक्रमण बढेपछि सरकार यसको नियन्त्रण कसरी गर्ने भन्ने उपायको खोजीमा जुटेको छ । पछिल्लो समय कोरोना सक्रमण दर बढेपछि देशका प्रमुख शहरहरुमा निषेधाज्ञा, कर्फ्यु लगायतका उपाय लगाएपनि कोरोना संक्रमणको मिटर बढ्दो छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे कोरोना नियन्त्रणका लागि विज्ञहरुसँग सामूहिक परामर्श गर्दै छन् । भयावह स्थिति आउनसक्ने चिन्ता बढेपछि सरकारले नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे छलफल गर्दै रणनीति तय गर्न प्रधानमन्त्री ओलीले मंगलबार छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सल्लाहकार थापाले कुन–कुन क्षेत्रका विज्ञहरुसँग छलफल गर्न लागेको भन्नेबारेमा अहिलेसम्म नखुलाइएको भन्दै २० भन्दा बढीको सहभागीता रहनसक्ने बताए ।
सरकारले गत चैत ११ बाट सुरु गरेको लकडाउन साउन ७ मा अन्त्यपछि नागरिकहरुले सुरक्षामापदण्डको वेवास्ता गर्दै आएका छन् । जसले गर्दा कोरोना संक्रमण समुदायस्तरमै पुगिसकेको कतिपयको भनाइ छ । तर सरकारले भने संक्रमण समुदायस्तरमा पुगिनसकेको दावी गर्दै आएको छ ।