सुर्खेत – सरकारले लकडाउन अन्त्य गरेसँगै दैलेखमा फेरि कोरोना भाइरस (कोभिड(१९)का संक्रमितहरु बढ्दै गएका छन् । कर्णाली प्रदेशको सबैभन्दा बढी संक्रमित भएको दैलेखमा पछिल्लो पाँच दिनयता मात्रै ७४ जना नयाँ संक्रमितहरु फेला परेका हुन ।
प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार गत ७ गतेदेखि १० गतेसम्म प्रदेशमा ८९ जनामा संक्रमण देखिँदा दैलेखका मात्रै ५० जना रहेका छन् ।
दैलेख अस्पतालको प्रयोगशालामा ६२ जनाको स्वाब परीक्षण गरिएकोमा आइतबार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोरोना फोकल प्रशन थिरप्रसाद रेग्मीले जानकारी दिए ।
आइतबार नारायण नगरपालिकाका मात्रै २३ जनामा संक्रमण देखिएको छ । जसमा १३ जना महिला र १० जना पुरुष रहेका छन । संक्रमितमध्ये ७ जना सरकारी कर्मचारी र एकजना स्वास्थ्यकर्मी रहेको नगरपालिकाका सूचना अधिकारी प्रकाश विसीले जनाकारी दिए । एकजना संक्रमित भने दुल्लु नगरपालिका निवासी महिला हुन् ।