काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पार्टी संकटपूर्ण अवस्थाबाट गुज्रेको बताएका छन् ।उनले नेकपाकै अर्का अध्यक्षको सक्रियतामा नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता हुनुु र सरकारले पार्टीमा हैकम जमाउन खोज्दा पार्टी संकटपूर्ण अवस्थामा पुगेको बताएका हुन् । प्रचण्डले पार्टी र सरकारबीचको सम्बन्ध राम्रो बन्न नसक्नुमा सामूहिक नेतृत्वको अभ्यासको अभाव भएको पनि बताए ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला शुक्रबार नेकपाका संस्थापक नेताहरु पुष्पलाल र नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले पुष्पलाल, पार्टीको अवस्था, सरकार र पार्टीबीचको सम्बन्ध लगायतका विषयमा धारणा राखेका हुन् । यहाँ पार्टी संकटमा छ । साँचो कुरा के हो भने अहिले ठिकठाक छ भनेर मैले भनेँ भने त्यो सत्य होइन । पार्टी संकटमा छ, किनकी हाम्रो पार्टीको बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा एमालेको नाममा पार्टी दर्ताको प्रकृया हाम्रो पार्टीका अर्का अध्यक्ष (केपी ओली) समेतको सक्रियता र पहलमा भएको छ ।
त्यसकारण यसले संकटलाई व्यक्त गरेकै छ । यो तपाइँहरुले देखिराख्नुभएको छ र सवैले देखेकै कुरा हो । अहिले देशभरी केही कार्यकर्ताहरुलाई नाराजुलुुसमा लगाउने कोसिस भएको छ । तपाईंहरुले यो पनि देखिराख्नुभएको छ, मुर्दावाद र जिन्दावादका नारा । हामी यो पार्टीलाई कसरी एकताबद्ध गर्ने भन्नेबारे छलफल गरिरहेका छौं, पार्टीलाई कसरी गति दिने भन्नेमा पनि हामी केन्द्रीत भएर छलफल गर्दैछौँ । तर देशभरी जुलुस भएको छ । हामीलाई साथीहरुले देशभरीबाट सोध्छन् अव हामी के गर्ने भनेर । तर हामीले धैर्य लिनुस् अहिले केही गर्नुपर्दैन भनेका छौँ । पार्टी एकताका पक्षमा उभिनुस् भनेर भनिरहेका छौँ । तर त्यस खालका प्रचारबाजी पनि भइरहेकाले पार्टीमा संकट छ भन्ने नै देखाएको छ । उनले भने “ओली–प्रचण्ड संवाद ठप्प, ‘जबज’बारे निर्णय गर्न प्रचण्डलाई कठिन पार्टी सामान्य स्थितिमा छैन । पार्टी एकता प्रक्रियामा हामीले केही आधारहरु बनाएका थियौँ । सबैभन्दा पहिला वैचारिक राजनीतिक आधार हो । वैचारिक ढंगले हामीले मार्क्सवाद लेनिनवादलाई हाम्रो निर्देशक सिद्धान्त हो भनेर सर्वसम्मत ढंगले मानेका छौँ भने राजनीतिक कार्यदिशाको रुपमा जनताको बहुदलीय जनवाद, एक्काइसौँ सताब्दीको जनवाद र माओवादसम्बन्धी मान्यतालाई विकसित गर्नुपर्छ, अबको नयाँ चरणमा परिमार्जित गर्नुपर्दछ भन्दै समाजवादउन्मुख जनताको जनवादलाई अहिलेको कार्यदिशा भन्यौँ ।”