काठमाडौं – भगवान रामको जन्म नेपालमा भएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले संसदीय समितिमा पनि प्रवेश पाएको छ । ‘रामको जन्म नेपालमा भएको र अयोध्या नेपालमा पर्छ’ भनेर प्रधानमन्त्रीले अभिव्यक्ति दिएपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा यो विषयले प्रवेश पाएको हो । सांसदहरुले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका छन् ।
नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले अयोध्या र ठोरीका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई व्यक्तिगत रुपमा लिन नहुने बताए । उनले ठोरीको अनुसन्धानका लागि के व्यवस्था भएको छ । अहिले कतिको अनुसन्धान भइरहेको छ भन्दै प्रश्न समेत गरे । प्रधानमन्त्री ओलीले के आधारमा भन्नुभएको हो अहिले अनुसन्धान कुन चरणमा पुगेको छ त्यसको विषयमा जानकारी हुनुपर्ने उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नारदमुनि रानाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि ठोरीको विषय राष्ट्रिय बहसको विषय बनेको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध भारतमा जन्मेका हुन् भन्दै अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै रामको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका विषयमा पुरातत्व विभागले अनुसन्धान अगाडी बढाउनुपर्नेमा जोड दिए ।