काठमाडौं – सरकारले सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार जना सचिवको सरुवा गरेको छ भने बढुवा भएका दुई जनालाई पदस्थापन गरेको छ । रिक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याललाई ल्याइएको छ । बस्याल गण्डकी प्रदेशको प्रमुख सचिवका रूपमा कार्यरत थिए ।
यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा बाग्मती प्रदेशका प्रमुख सचिव तोयम रायालाई ल्याइएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारप्रसाद न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ भने भूमि व्यवस्था मन्त्रालयमा कर्णाली प्रदेशका प्रमुख सचिव टेकनारायण पाण्डेलाई ल्याइएको छ ।
मन्त्रिपरिषद् बैठकले हालै सचिवमा बढुवा भएका विष्णु नेपाललाई गण्डकी प्रदेशको प्रमुख सचिवमा र मानबहादुर विकेलाई बाग्मती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ ।