काठमाडौं – बुधबारदेखि पश्चिम क्षेत्रबाट वर्षा क्रमशः कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस वर्ष मनसुन सुरु भएदेखि हालसम्म औसतभन्दा बढी वर्षा भएको विभागले बताएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सरजुकुमार वैद्यले भोलिदेखि पश्चिममा वर्षा कम हुँदै गए पनि प्रदेश १, २, गण्डकी र बागमती प्रदेशमा भने अझै केही दिन वर्षा जारी रहने जानकारी दिए ।
साउन चार गतेदेखि निम्नचापीय रेखा नेपालको ठीक माथि छ । त्यसैले देशभर मध्यमदेखि भारी वर्षा हुँदै आएको छ । महाशाखाका अनुसार मनसुनी निम्न चापीय रेखा साउन ९ गतेदेखि दक्षिण जाने छ ।
महानिर्देशक वैद्यका अनुसार निम्न चापीय रेखा दक्षिणतर्फ सर्दै गएमा भारतमा धेरै वर्षा हुन्छ भने नेपालमा सुक्खा हुन्छ । केही दिनयता जारी वर्षाका कारण देशभर बाढीपहिरो र डुबानको समस्या छ । मौसम विज्ञान विभागका अनुसार तीन दिनयता गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ मा भारी वर्षा मापन भएको छ । जुन, जुलाई, अगष्ट र सेप्टेम्बर महिना मनसुन कायम रहने महिना हुन् । वर्षासँगै खोला तथा नदीमा आउने बाढीका कारण सम्भावित जोखिममा परेका बासिन्दाहरुलाई मौसम विज्ञान विभागले एसएमएस र सामाजिक सन्जालमार्फत् पूर्वसूचना जारी गर्दै आएको छ । हालसम्म जोखिम क्षेत्रका बासिन्दालाई ५० लाख १७ हजारभन्दा धेरै एसएमएस पठाएर सतर्क रहन भनिसकिएको विभागका महानिर्देशक वैद्यले जानकारी दिए ।