लगातारको वर्षाका कारण नारायणगढ-मुग्लिन सडकको ठाउँठाउँमा पहिरो खसेको छ । पहिरोले सडक अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यलय चितवनले सर्वसाधारणमा सूचना जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले राजमार्गको चार किलो र चोर खोलामा पहिरो खसेको जानकारी दिनुभयो । “यति बेला पहिरोले सडक पूर्णरुपमा अवरुद्ध छ । सडक खुला गर्न दिनभरि नै समय लाग्ने हुँदा यात्रुहरूले विकल्पका सडक प्रयोग गर्नुहोला”, प्रजिअ भट्टराइले भन्नुभयो ।
“पानी लगातार परिरहेको छ । माथिबाट पनि पहिरो झरिरहेकाले तत्काल पहिरो सफा गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो । नारायणग(मुग्लिन सडकको पुर्ननिर्माणको काम सकिए पनि सडकमाथिका पहिरो नियन्त्रणको काम भने सकिएको थिएन । सडकका विभिन्न पहिरो जोखिम क्षेत्रको व्यवस्थापनको काम भइरहेका बेला यो पहिरो खसेको हो ।
अहिले नारायणगढ(मुग्लिन सडकमा देखिएको समस्या सडक विस्तारका क्रममा काटिएका पहाडको उचित व्यवस्थापन हुन नसकेका कारणले भएको प्राविधिकहरूले औँल्याएका छन् ।
“भूगर्व विज्ञहरूले पहिरो खस्दैन भनेकै ठाउँबाट पनि पहिरो खसेर समस्या हुने हो कि भन्ने देखिएको छ”, आयोजनामा काम गरिसक्नुभएका एक प्राविधिकले गोरखापत्रसँग भन्नुभयो । नारायणगढ(मुग्लिन सडकमा ३१ वटा ठाउँमा पहिरोको जोखिम औँल्याइ सडक आयोजनाले नियन्त्रणको प्रयास गरिरहे पनि थप सात ठाउँमा नयाँ पहिरो अघिल्लो वर्ष नै खसेको हो । अहिले पहिरो खसेका दुवै ठाउँमा अघिल्लो वर्ष पनि पहिरो खसेको ठाँउ हो ।
नारायणगढ(मुग्लिन सडकमा गत वर्षबाटै टोपे खोला, चार किलो, जलविरे, भालुढुङ्गे लगायतका सात ठाउँमा पहिरो झर्न शुरु गर्यो । जुन ठाउँलाई विज्ञहरूले यसअघि पहिरो झर्ने जोखिम क्षेत्रका रुपमा औँल्याएका थिएनन् । भालु ढुङ्गा र चार किलोको पहरो नियन्त्रणको काम गत वर्ष गर्न सकिएको थिएन भने अन्य थप पाँच ठाउँमा पहिरो खस्ने समस्या देखिएपछि नियन्त्रणको काम भइरहेको नारायणगढ(मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।
पहिरो जोखिमको क्षेत्र गाईघाट, घुमाउने, चारकिलो नजिक, टोपे खोला र काली खोलामा पहिरो रोक्नुपर्ने अवस्था छ । ती ठाउँमा गत वर्ष अन्य ठाउँमा गरिएका रक नेटिङ् (ढुङ्गालाई तारले बाँध्ने), रक बोल्टीङ् (ढुङ्गामा नट बल्टुले कस्ने), बायोईन्जिनियरीङ् (बिरुवा रोप्ने) सँगै नयाँ प्रविधि रबर सिल गर्ने (ढुङ्गाको प्वाल परेको ठाउँमा रबर छिराएर बन्द गर्ने) गरी गृहकार्य भइरहेको छ ।
यस्तै, सोही सडक खण्डको १७ किलो र २६ किलोमा गत वर्ष काम गर्दागर्दै सडक भासिएको थियो भने २४ किलोमा नदी छेउमा राखिएको ब्लक बगाएको थियो । सत्र किलोमा ४० मिटर लामो र छ मिटर चौडाइ सडक तीन दशमलव ५ मिटर तल त्रिशुलीमा धसिएको थियो । यसको मर्मत सुधार भइसकेको छ ।
यस्तै, २६ किलोमा ७० मिटर लामो र सात मिटर चौडाई सडक ४० सेन्टिमिटर भासिएको थियो । चौबीस किलोमा त्रिशुलतर्फ राखिएका ब्लकमध्ये ३५(३६ वटा बगाएको थियो । यो पहिरो नियन्त्रणको काम भइरहेको छ ।
गाेरखापत्र