सभामुख सापकोटासमक्ष नवनिर्वाचित सांसद ज्वारचनको शपथ

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य समानुपातिक पदमा नवनिर्वाचित सुवर्ण ज्वारचनलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष नवनिर्वाचित सदस्य ज्वारचनले शपथ लिएका हुन् । नेपाली काँग्रेसकातर्फबाट २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपाति सदस्यमा निर्वाचित ज्ञानकुमारी छन्त्यालको गत असार १७ गते निधनपछि उक्त सदस्य पद रिक्त थियो ।

नेकाको समानुपातिकतर्फको बन्द सूचिको क्रमसङ्ख्या ५९ र आदिवासी जनजाति समावेशी समूहको प्राथमिकता क्रम ६ मा रहेकी ज्वारचनलाई निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यमा निर्वाचित गरेको हो । गुल्मीको सत्यवती गाउँपालिका वडा नं ६ स्थायी घर भएकी सांसद ज्वारचनको परिवारसँग मुलुकमा प्रजातन्त्र स्थापनाका लागि लामो सङ्घर्ष र योगदान पु¥याएको पृष्ठभूमि जोडिएको छ । विसं २००२ मा जन्मिएर २०३६ बाट राजनीतिमा सक्रिय ज्वारचन जिविस गुल्मीको निर्वाचित उपसभापति पनि भइन् ।

यसअघि उनी विसं २०७० मा भएको दोस्रो संविधानसभा सदस्य रहेकी थिइन् । दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएपछि उनले नौ महिना उद्योग तथा वाणिज्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्हेकी थिइन् । समारोहमा सभामुख सापकोटाले उनलाई सङ्घीय सांसदको लोगो प्रदान गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्