आर्थिक वर्षको अन्त्यमा बर्सेनी सरकारी चेक भुक्तानीमा चाप पर्ने गरेको छ । जसअनुसार मंगलबार एकैदिन झण्डै २५ अर्बको चेक भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । महालेखा नियन्त्रक गोपीनाथ मैनालीले मंगलबार २४ अर्ब ९६ करोड ७३ लाख रुपैयाँ बराबरको चेक भुक्तानी भएको रातोपाटीलाई जानकारी दिए । आज (बुधबार ) अझ धेरै भुक्तानी उनसक्ने उनको भनाइ छ ।
यद्यपि यो वर्षको सबैभन्दा बढी भुक्तानी असार २२ गते भएको थियो । महालेखा नियन्त्रक मैनालीका अनुसार सो दिन २८ अर्ब भुक्तानी भएको थियो । महालेखाको बेभसाइटमा नदेखिएपनि सो दिन २८ अर्ब नै भुक्तानी भएको मैनालीको भनाइ छ । उनले भने, ‘बेभसाइटमा नदेखिएपनि मैले भनेपछि म नै तथ्यांक हुँ । सो दिन २८ अर्ब भुक्तानी भएको थियो ।’
सरकारको आम्दानी १० खर्ब ३४ अर्ब पुगेको र आज मात्रै १२ बजेसम्म झण्डै २० अर्ब आम्दानी भइसकेको महालेखा नियन्त्रक मैनालीले जनाएका छन् । यद्यपि, महालेखाको वेभसाइटमा प्रकाशित तथ्यांकमा भने असार ३० गतेसम्म ८ खर्ब ३१ अर्ब ३० करोड ३६ लाख रुपैयाँ देखिएको छ ।
साँझ ५ बजेसम्म तथ्यांक अपलोड भइसक्ने हुनाले त्यसपछि प्राप्त हुन आएको आम्दानी देखाउँन बाँकी रहेकाले सरकारको वास्तविक आम्दानी नदेखिएको महालेखा नियन्त्रक मैनालीको तर्क छ । आजसम्म सरकारको आम्दानी १० खर्ब ५५ अर्ब पुग्ने उनले बताए । यस्तै आज (बुधबार) १५ अर्ब खर्च हुने महालेखाको आंकलन छ । अहिलेसम्म १० खर्ब ७५ अर्ब रुपैयाँ सरकारी खर्च भएको मैनालीले बताए ।
आगामी आवको (२०७७/७८) बजेट प्रस्तुत गर्दा अर्थमन्त्री डा. युवराज खतिवडाले ७० प्रतिशत अर्थात १० खर्ब ७३ अर्ब ३५ करोड रुपैयाँ बजेट खर्च हुने अनुमान संघीय संसद बैठकमा सुनाएका थिए । अर्थमन्त्रीको सो अनुमान भेटिइसकेको छ । आर्थिक बर्ष सकिन १ दिन बाँकी रहदा ७०.५० प्रतिशत बजेट खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयले करिब ७५ प्रतिशतसम्म खर्च हुनसक्ने अनुमान गरेको छ ।
चालू आवको लागि अर्थमन्त्री डा. खतिवडाले १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट विनियोजन गरेकोमा अर्धवार्षिक समिक्षा मार्फत बजेटको आकार घटाएका थिए ।