बालुवाटारमा ओली र दाहालबीच डेढ घण्टा लामो छलफल, के भयो सहमति ?

FILE PHOTO

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मङ्गलबार करिब डेढ घण्टा लामो छलफल भएको छ । छ दिनपछि भएको दुई अध्यक्षबीचको वार्तालाई नियमित वार्ता भनिएको छ । यसअघि गत बुधबार दुई अध्यक्षबीच छलफल भएको थियो । त्यसपछि आज दुवै अध्यक्षबीच छलफल भएको हो । दिउँसो १२ बजेदेखि शुरु भएको वार्ता करिब डेढ बजेसम्म चलेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए ।
प्रधानमन्त्रीलाई भेटन अध्यक्ष ‘प्रचण्ड’ बालुवाटार पुगेका थिए । साउन २ गतेसम्मका लागि स्थगित गरिएको नेकपा स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच विवादित विषयमा सहमति हुने विश्वास गरिएको छ । सोही सहमतिको प्रयासस्वरुप दुई अध्यक्षबीचको वार्ता र संवाद जारी छ ।
यसअघि गत शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले देशवासीको नाममा सम्बोधन गर्दै संवाद र छलफलबाटै पार्टीको आन्तरिक विवाद समाधान हुने विश्वास दिलाएका थिए ।

त्यसको भोलिपल्ट शनिबार पुगेर अर्का अध्यक्ष प्रचण्डले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगर्ने बताए । दुई अध्यक्षबीचको अभिव्यक्तिले वार्ता सहमति नजिक पुगेको सङ्केत मिलेपनि ठोस सहमति भइनसकेको स्थायी कमिटीका सदस्यहरूको अनुमान छ । स्थायी कमिटी बैठकअघि केही न केही विषयमा ठोस सहमति गर्ने विश्वास नेताहरूले गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्