जलेश्वर – अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले बताए । करिव १६० वर्षभन्दा पूरानो राणाकालीन कारागार जलेश्वर नगरपालिकाको वडा नम्बर २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ । वर्षाको बेला यस कारागार पटक पटक डुबानमा पर्दै आएको उनले जानकारी दिए ।
कारागारको बाहिर मूलगेटदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पानी भरिएको छ । कारागारभित्र तीन फिटभन्दा बढी पानी भरेर जलमग्न र अस्तव्यस्त भएको चौकीदार ९मूलकैदी० रमेशकुमार सिंहले बताए । कारागारमा ४९५ पुरुष, ४६ महिला र चार आश्रित बालबालिका गरी जम्मा ५४५ रहेका छन् । बन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान, नुहाउन र घुमफिर गर्नलगायतका विभिन्न समस्या भएको उनले जानकारी दिए ।
त्यस्तै, कारागार सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई समेत समस्या परेको छ । पानीमै उभिएर ड्युटि गर्नुपरेको छ । समस्याबारे जलेश्वर नगरपालिकालाई पटकपटक लिखित र मौखिक आग्रह गर्दा कुनै सुनुवाई नभएकोे जेलर महासेठले बताए । कारागारमा आज एकै दिन १५४ बन्दीमा ज्वरो तथा चारजनामा झाडापखालाको समस्या देखिएको जेलर महासेठले जानकारी दिए ।रासस