लोक सेवा आयोगका अधिकृतले अनियमित तरिकाले आफ्नी छोरीलाई उत्तीर्ण गराउन खोजेपछि…

काठमाडौं –लोक सेवा आयोगले लिने परीक्षामा आयोगका अधिकृतले नै अनियमित तरिकाले आफ्नी छोरीलाई उत्तीर्ण गराउन खोजेको खुलेको छ ।
सुरक्षा निकाय तथा संगठित महाशाखाको नतिजा तयारी शाखाका अधिकृत मिमबहादुर शाहीले २०७६ साल जेठ ११ मा नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी छोरीलाई आफैंले उत्तर लेखिदिएर परीक्षा पास गराउन खोजेको खुलेको हो ।
हाल मिमबहादुर शाहीलाई दरखास्त व्यवस्थापन केन्द्रमा पठाइएको छ भने उनको पाँच वर्षसम्म बढुवा र ग्रेड वृद्धि रोक्काको तयारी गरिएको छ । उनकी छोरीको भने उत्तर पुस्तिका रद्द गरिएको छ । आयोगले रोल नं. ३२९८ नम्बरको ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिएको जानकारी सूचना निकालेर दिएको थियो ।
अधिकृत शाहीले (अब्जेक्टिभ) वस्तुगत परीक्षाको उत्तर पुस्तिकामा सबै ५० वटै प्रश्नका उत्तर ‘क्यापिटल’ नभई ‘स्मल’ ‘सी’ मात्र लेखेर बाहिरिन भनेका थिए । उनकी छोरीले त्यसै गरिन् । उत्तरपुस्तिका जाँच्ने क्रममा शाहीले पछि ‘सी’ लाई ‘ए’, ‘बी’ र ‘डी’ पनि बनाएर सच्याए ।

नतिजा प्रकाशन हुँदा उनकी छोरीको वस्तुगत परीक्षाको ५० वटै प्रश्नको उत्तर मिल्यो । अन्तिम नतिजा प्रकाशनको निर्णय गर्नुअघि उनकी छोरीको नाम एक नम्बरमा थियो । उनको प्राप्ताङ्क अस्वाभाविक लागेर सचिव आनन्दराज ढकालले पुनः छानबिन गर्न निर्देशन दिए । छानबिन गर्दा बाबुले नै उत्तर लेखिदिएर पास गराउन खोजेको खुलेको हो । विधि विज्ञान प्रयोगशालाले पनि उत्तरपुस्तिका सच्याएको प्रमाणित गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्