दक्षिण कोरियाको राजधानी शहर सोलका मेयर पार्क वोन सुनको सुसाइड नोट सार्वजनिक भएको छ । अधिवक्ता पार्क वोन सुन १० वर्षसम्म सोल शहरको मेयर थिए र बिहीबार बेपत्ता भएपछि सयौं प्रहरी अधिकारी उनको खोजीमा जुटेका थिए । मध्यराती १२ बजे सोलको माउन्ट बुकक क्षेत्रमा उनको शव फेला परेको थियो ।
तत्कालै प्रहरी प्रवक्ताले उनको मृत्युबारे छानविन भइरहेको तर हत्याको संभावना नदेखिएको जनाएका थिए । त्यसपछि उनको कार्यालयमै एक चिट्ठी भेटियो । ‘म सबैसँग माफी माग्छु र ती सबैलाई धन्यवाद् दिन्छु, जो मेरो जीवनमा मेरो साथमा थिए । म मेरो परिवारसँग माफी माग्छु, जसलाई मैले दुःखमात्रै दिए । मलाई जलाउनुस् र मेरो खरानी मेरा बाबु आमाको चिहानमा फैलाउनुस्, सबैलाई अलविदा,’ उनले लेखेका छन् ।
६४ वर्षीय पार्ककी छोरीले बिहीबार दिउँसोदेखि बाबु हराएको भन्दै प्रहरीमा उजूरी गरेकी थिइन् । छोरीका अनुसार बाबुले आत्महत्याको लक्षण देखाएका थिए र बिहान ११ बजे घर छाडेका थिए । छोरीले उजूरी गरेको ७ घण्टापछि पार्कको शव भेटिएको थियो ।
पार्कको मृत्युसँगै झन्डै १ करोड जनसंख्याको सोल शहरमा शोकमग्न बनेको छ । कुनै समय आफैं महिला अधिकारवादी अभियन्ता रहेका पार्कलाई धेरैले सम्भावित राष्ट्रपतिको उम्मेदवारका रुपमा हेरेका थिए । दक्षिण कोरियामा सोल शहरका मेयरलाई राष्ट्रपति पछिको दोस्रो शक्तिशाली व्यक्तिका रुपमा हेरिन्छ । महिला अधिकारवादी समूहहरुले पार्कको मृत्युका बाबजुद यौन दुव्यवर्हार आरोपमा छानविन भएरै छाड्नुपर्ने बताएका छन् ।