जाजरकोट – बारेकोट गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । नौ जना जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । बारेकोटमा आठ घर पहिरोले पुरेको छ । बारेकोट–४ जिरी सार्कीटोलमा गएराति पहिरो गएर दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्ये पाँच जनाको शव फेला परेको छ । पहिरोमा परी ५२ वर्षीय गोपाल सार्की र उनका ११ वर्षका छोरा अर्जुन सार्कीको शव फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै कलु सार्की ९दिदी० को घरमा पाहुना आएका कुशे गाउँपालिका–९ चौताराका २० वर्षीय डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्कीको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । अर्को एक जना शवको पहिचान खुल्न नसकेको उनले बताए । पहिरोमा बेपत्ता अन्य सात जनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । पहिरोले बारेकोट–४ सार्कीगाँउका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा भएको घटनामा पाहुन आएका दुई जनासहित सात जना अझै बेपत्ता छन् । त्यस्तै बारेकोट–६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने बाढीमा बेपत्ता भएका छन् । रामचन्द्र चलाउने र विज्ञान बोहरालाई स्थानीयवासीले बाढीबाट उद्धार गरेका छन् । रामचन्द्र गम्भीर घाइते भएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताए । त्यस्तै जुनिचाँदे गाउँपालिका–११ चैतेका डिल्लीबहादुर चदारा वडा नं ३ स्थित सानाखोलामा लडेर खोलामा पर्दा बेपता भएका छन् ।
प्रहरी नायब उपरीक्षक श्रेष्ठले घटनास्थलमा टेलिफोन नलाग्ने र प्रहरी सञ्चार सेटले समेत काम नगर्दा सूचना सङ्कलनमा समस्या भएको उनले बताए । त्यस्तै बारेकोट–४ का लालबहादुर नेपाली पहिरोमा परी गम्भीर घाइते भएका छन् । पहिरोले घर भत्काएको र भाग्ने क्रममा उनी घाइते भएका हुन् । उनको उद्धारका लागि हेलिकप्टर पठाउन खोजेको भए पनि खराब मौसमका कारण हेलिकप्टर उड्न सकेको छैन । गएराति परेको अविरल वर्षात्ले बारेकोटका विभिन्न बस्ती जोखिममा परेका छन् । पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको बारेकोट गाउँपालिका–४ की अध्यक्ष सिर्जना बस्नेतले बताइन् । घटनास्थल सदरमुकाम खलङ्गादेखि दुई दिन पैदल दूरीमा २५ कोस उत्तरपूर्वमा पर्छ ।
दुई गाउँ जोखिममा
बारेकोट गाउँपालिका–४ मैना, वडा नं। ५ कालाखोली, कोट्ली, बयाल र तोलखानाका सर्वसाधारणहरुलाई सुरक्षित रुपमा बस्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिइन् । रागाँचौथारी हिमालबाट बग्ने खोलाले कटान गर्दा मैना गाउँ जोखिममा परेको छ । सर्वसाधारण जङ्गलमा पाल टाँगेर बसेको स्थानीय धीरेन्द्र बस्नेतले जानकारी दिए । त्यस्तै जिल्लाका सबै सडक अवरुद्ध भएका छन् ।
सदरमुकामलगायत अन्य ठाउँबाट गएको टोली घटनास्थलमा पुग्न अझै सकेको छैन । राहत र उद्धारका लागि आउने भनिएको हेलिकप्टर खराब मौसमका कारण आउन नसकेको हो । मौसमले साथ नदिँदा समस्या भएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । हेलिकप्टर तयारी अवस्थामा भए पनि मौसमले साथ नदिँदा समस्या भएको छ ।
गम्भीर घाइतेको उपचारमा समस्या
पहिरोमा परी बारेकोट गाउँपालिका गोठगाउँ–१ र वडा ६ का दुई जनाको उपचारका लागि समस्या भएको छ । मौसम सफा नहुँदा हेलिकप्टरबाट उद्धार हुन सकेको छैन
रासस