यस वर्ष असार नसकिँदै धान रोपाइँमा उच्च वृद्धि, ५० प्रतिशतभन्दा बढी धान रोपाइँ

यस वर्ष असार नसकिँदै धान रोपाइँमा उच्च वृद्धि भएको छ । भदौ पहिलो हप्तासम्म हुने रोपाइँलाई राम्रै मान्ने गरिएको छ ।
समयमा मनसुन सुरु भएको र रासायनिक मल पहुँच र सिँचाइका कारणले ५० प्रतिशतभन्दा बढी धान रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । १० दिनमा मात्र रोपाइँमा २५ प्रतिशतले वृद्धि भएको छ । असार १५ गतेसम्म ३५.४८ प्रतिशतसम्म मात्र रोपाइँ भएको थियो भने असार २२ गतेसम्म ६०.६३ प्रतिशत रोपाइँ भइसकेको छ ।
कुल क्षेत्रफलमध्ये १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ हुन्छ तर यसपटक त्यसमध्ये आठ लाख ३१ हजार ६१२ हेक्टरमा धान रोपाइँ भइ सकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार असार २२ गतेसम्म ६०.६३ प्रतिशत रोपाइँ भइसकेको छ जबकि गत वर्ष २३.८० प्रतिशत रोपाइँ मात्र भएको थियो । अर्थात हालसम्म गतवर्षको तुलनामा ३६.८३ प्रतिशत बढी धान रोपाइँ भएको छ ।
विगतको तुलनामा तराईमा पनि रोपाइँमा निकै वृद्धि भएको छ । गत वर्ष यस बेलासम्म ९.७९ प्रतिशत मात्र रोपाइँ भएको थियो भने अहिले ५०.३३ प्रतिशत रोपाइँ भइसकेको छ । त्यस्तै, प्रदेश १ मा ५१.५४, प्रदेश ३ मा ५२.०२, गण्डकीमा ५६.४९, प्रदेश ५ मा ७५.४८, कर्णाली प्रदेशमा ७९.७५, सुदुरपश्चिम प्रदेशमा ७५.८६ प्रतिशत रोपाइँ भएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।
हालसम्म सबभन्दा बढी तराईमा ६२.३८ प्रतिशत रोपाइँ भइसकेको छ, जबकि असार १५ गतेसम्म ३४.३४४ प्रतिशत मात्र रोपाइँ भएको थियो । उच्च पहाडी भेगमा ५७.३४ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै मध्य पहाडमा ५६.१४ प्रतिशत रोपाइँ भएको छ ।

 

Photo : Rekha Joshi

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्