ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोलाई कोरोना भाइरस संक्रमण भएको छ । उनलाई उच्च ज्वरो र कोरानाका अन्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको ’द गार्डियन’ ले जनाएको छ ।
सोमबार उनको चौथो पटकको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । बोलसोनारो कोरोनाको जोखिमप्रति बेवास्ता गर्दै आएका थिए । उनले कोरोनालाई ’सामान्य फ्लू’ भन्दै लकडाउनको विरोध पनि गरेका थिए । लकडाउनले देशको अर्थतन्त्रमा गम्भीर असर पर्ने भन्दै उनले प्रान्तीय गभर्नरहरूलाई लकडाउन खुकुलो पार्न अपील गरेका थिए । गार्डियनका अनुसार पहिले उनी मास्क नलगाई सार्वजनिक कार्यक्रममा सहभागी हुन्थे । केही दिनअघि ब्राजिलका विदेशमन्त्रीले सामाजिक सञ्जालमा राखेको एक फोटामा राष्ट्रपति बोलसोनारो र अरू नेता बिना मास्क देखिएका थिए । सोमबारदेखि भने उनले ब्राजिलमा सार्वजनिक स्थान मास्क लगाउन अनिवार्य गरेका छन् ।
६५ वर्षीय बोलसोनारोले आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी पत्रकार सम्मेलन मार्फत् दिएका हुन् ।