ललिता निवास जग्गा प्रकरणमा मुछिएका अधिकृत पौडेललाई धरौटीमा रिहा गर्न सर्वाेच्चकाे आदेश

ललिता निवास जग्गा प्रकरणमा मुछिएका एक आरोपितलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । अधिकृत कृष्णप्रसाद पौडेललाई थुनामा राख्नुपर्ने भन्ने विशेषको आदेश ‘बेरितको रहेको’ निष्कर्ष निकाल्दै सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको इजलासले ‘तत्काल प्राप्त प्रमाण हेर्दा पुर्पक्ष थुनामा राख्न न्यायसम्मत नदेखिने’ ठहर गरेको हो । यही विवादमा विशेष अदालतले पौडेललाई गत चैत ३ गते थुनामा पठाएको थियो । अध्यक्ष शिवराज अधिकारी र सदस्य चन्द्रबहादुर सारुको इजलासले ‘विभिन्न कैफियतहरु देखिएको’ थुनामा राख्न आदेश गरेको थियो ।
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत पौडेल ललिता निवासको जग्गा मोही र अन्य व्यक्तिका नाममा दर्ता गर्ने क्रममा संलग्न भएको अख्तियारको आरोप थियो । उनीमाथि सरकारी स्वामित्वमा रहिरहेको सरकारी जग्गा बाटो अनि राजकुलो अनधिकृत व्यक्तिलाई गैरकानुनी रुपमा दाखिला खारेज, नामसारी र सट्टाभर्ना दिने काम गरेको आरोप थियो । अख्तियारले उनीमाथि ३२ करोड १९ लाख रुपैयाँ विगो मागदावी गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्