प्रधानमन्त्री ओलीद्वारा फ्रान्स र आयरल्याण्डका प्रधानमन्त्रीलाई शुभकामना

File Photo

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सका नवनियुक्त प्रधानमन्त्री जिन कास्टेक्सलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले नेपाल सरकार र आफ्नोतर्फबाट मङ्गलबार बधाई सन्देश पठाउँदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका हुन् ।

नेपाल र फ्रान्सबीचको लामो मैत्रीपूर्ण सम्बन्धसँगै जनता जनताबीचको सम्बन्धको स्मरण गर्दै प्रधानमन्त्री ओलीले थप बलियो सम्बन्ध बनाउन दुई देशबीच बलियो आर्थिक साझेदारीको आवश्यकता रहेको औल्याए । साथै फ्रान्सले नेपालको सामाजिक आर्थिक विकासका लागि गरिरहेको सहकार्यको सराहनासमेत प्रधानमन्त्री ओलीले गरेका छन् ।

यसैबीच प्रधानमन्त्री ओलीले आयरल्याण्डका नवनियुक्त प्रधानमन्त्री माइकल मार्टिन टिडिलाई सफल कार्यकालको शुभकामना सन्देश पठाएका छन् । हालै भएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको निर्वाचनमार्फत दुई वर्षका लागि अस्थायी सदस्य चुनिएकोमा आयरल्याण्डलाई बधाई दिए ।

प्रधानमन्त्री ओलीले दुवै शुभकामना सन्देशमा कोभिड–१९ महामारीविरुद्ध सहकार्य र सद्भावका साथ अन्तर्राष्ट्रिय समुदायले लड्नुपर्नेमा जोड दिएका छन् । त्यस्तैगरी फ्रान्स र आयरल्याण्डमा रहेका नेपाली नागरिकको जारी सङ्कटमा समयमा गरेको रेखदेखका लागिसमेत प्रधानमन्त्री ओलीले दुवै देशका सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्