नागरिकता विधेयकमा देउवाको निष्कर्ष : ‘महिला पुरषबीच विभेद राख्नु हुदैन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महिला र पुरूषबीच विभेद नहुने गरी नागरिकता ऐनमा व्यवस्था गर्न पार्टीभित्र छलफल गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार बसेको अनौपचारिक बैठकमा नागरिकतामा महिला र पुरूषबीच विभेदको रेखा कोर्न नहुने विषयमा छलफल भएको थियो ।

उक्त छलफलपछि सभापति देउवाले ट्वीट गर्दै महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको नागरिकता विधेयकका प्रावधान संशोधन गरी लिंगका आधारमा विभेद गर्न नहुने व्यवस्था राख्नु पर्ने धारणा सार्वजनिक गरे ।

‘संविधानले नै महिला र पुरूषबीच समानता सुनिश्चित गरेकोले छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय तथा समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन,’ देउवाले भनेका छन्,‘नेपाली पुरूष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरूषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन ।’

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल हुँदा कांग्रेसले समानतालाई जोडबलका साथ उठाएको थिएन । बैठकबाट बहुमतले नागरिकता विधेयक पारित हुँदा फरक मत राखेको केही दिनपछि कांग्रेसले समानतालाई प्राथमिकता दिने गरी छलफल गरेको हो ।

सभापति देउवाले समानताको अवधारणा–मर्मअनुरूप नागरिकता विधेयक अघि बढाउन सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपासँग माग पनि गरेका छन् । समानतालाई अब कांग्रेसले पार्टीका बैठक र संसदमा आवाज उठाउने संकेत देउवाको छ ।

‘महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिङ्गको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा–मर्म अनुरूप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु,’ देउवाले भनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्