रसायनशास्त्र विद्यार्थी संगठन नेपालको ‘अन्तरक्रिया कार्यक्रम’ ८औं शृङ्खलामा, ५० जना भन्दा बढीको सहभागिता

काठमाडौँ – रसायनशास्त्र विद्यार्थी संगठन नेपालको ‘साप्ताहिक अनलाईन अन्तरक्रिया कार्यक्रम’को आठौँ शृङ्खला सम्पन्न भएको छ ।

शनिबार ‘फेसमास्क र स्वसनकर्ताहरुको लागि मिडिया फिल्टर’ शीर्षकमा करिब डेढ घण्टा चलेको अन्तरक्रिया कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका स्नातक र स्नातकोत्तर रसायनशास्त्र अध्ययनरत विद्यार्थी र अन्य सरोकारवालाहरु गरि करिब ५० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा रिकास्टका कार्यकारी निर्देशक तथा सिसानका प्रमुख सल्लाहकार प्रा.डा. रामेश्वर अधिकारी, प्रा.डा. अक्कलदेव मिश्रको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रा.डा. द्वय अधिकारी र मिश्रले लकडाउनको समयमा यस्ता अनलाईन अन्तरक्रिया कार्यक्रम विद्यार्थीका लागि उपलब्धिमुलक रहने र निरन्तरता दिइरहनुपर्नेमा जोड दिएका थिए ।
डा. भानुभक्त न्यौपानेले ‘फेसमास्क र स्वसनकर्ताहरुको लागि मिडिया फिल्टर’ विषयमा बोलेका थिए ।

कार्यक्रममा पीएचडी अनुसन्धान विज्ञहरु र रसायनशास्त्र, फार्मेसी, माइक्रोबायोलोजी र वायोटेक्नोलोजीका विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो ।  राजेन्द्र जोशी, आकाश घिमीरे र विकास निरौला प्राविधिक रहेका थिए । कार्यक्रममा संस्थाका अनुसन्धान संयोजक सौरभ कटुवालले ’कोरोना अपडेट’ गराएका थिए भने संस्थाका सदस्य सुनिल बरालले वक्ताहरुको छोटो परिचय प्रस्तुत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष सुरज पन्थले रिपोर्ट प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष याम रोका मगरको अध्यक्षता र महासचिव आकाश घिमीरेको संचालनमा सम्पन्न भएको थियो ।

संस्थाले कोरोना भाइरस सम्बन्धि ’कोरोना खोज’ नाम न्युजलेटर पाक्षिक रुपमा प्रकाशन गर्दै आएको र पछि पुस्तकको रुप दिने योजना रहेको अध्यक्ष रोका मगरले जानकारी दिए ।

कोरोना भाइरसको कारण देश लकडाउन भएपछि संगठनले ‘अनलाईन अन्तरक्रिया’ कार्यक्रमको सुरुवात गरेको थियो । आगामी दिनहरुमा पनि यस्तै विद्यार्थीहरुलाई हित हुने कार्यक्रमहरु आयोजना गर्दै जाने अध्यक्ष रोका मगरको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्