काठमाडौं – समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा ढुंगामुढा गरेको र कालो झण्डा राखेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराका २८ वर्षीय हेमराज थापा छन् । थापा सोही पार्टीका विद्यार्थी नेता पनि हुन् ।
काठमाडौं प्रहरीका प्रवक्ता राजकुमार केसीले उनलाई न्यूरोडबाट पक्राउ गरिएको बताए । उनले भने, ‘अहिले टेकुस्थित हिरासतमा राखेका छौं, अनुसन्धान गरिरहेका छौं ।’
गिरीको विशालनगरस्थित घरमा मंगलबार उनीहरुले तोडफोड र कालोझण्डा देखाएका थिए । त्यसपछि असुरक्षित भएको भन्दै गिरीले प्रहरीलाई खबर गरेकी थिइन् ।
सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेपछि निशान छापमा पनि सो अद्यावधिक नक्शा राख्नका लागि सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक प्रतिनिधिसभामा विचाराधीन छ । तर, सांसद सरिता गिरीले स्रोत र प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी छन् । यस विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको छ ।