सामाजिक सञ्जालहरूमा मानिसहरू निरन्तर आफ्नो तौल र मोटाइलाई लिएर चिन्तायुक्त टिप्पणी गरिरहेका हुन्छन्।
पछिल्ला महिनाहरूमा हाम्रा बदलिँदा खानपान – खानेकुराको उपलब्धता र जीवनशैलीमा आएको परिवर्तन – ले हाम्रो तौलमा असर परेको विषयलाई बेवास्ता गर्न सकिँदैन।
किङ्ग्स कलेज लन्डन तथा इप्सस मोरीले २,२५४ सहभागी समाविष्ट एउटा सर्वेक्षणमा ४८ प्रतिशतले लकडाउनमा आफ्नो तौल बढेको बताए।
त्यति नै अनुपातमा मानिसहरू पहिलेभन्दा चिन्तित र उदास रहने गरेको पाइयो। झन्डै २९ प्रतिशत मानिसहरूले पहिलेभन्दा धेरै मदिरापान गरेको पनि बताए।
अधिकांश मानिसहरूले तनाव बेहोरिरहेको अहिलेको अवस्थामा यी सङ्ख्या कत्तिको चिन्ताजनक हुन्?
यहाँ विज्ञहरूले तौलमा मात्र केन्द्रित नभईकन कसरी आफ्नो शारीरिक एवम् मानसिक स्वास्थ्यको सुधार गर्न सकिन्छ भन्ने बारे चर्चा गरेका छन्।
के तौल बढ्नु ठूलो कुरो हो?
“अहिले मानिसहरूमा तनाव र व्याकुलता उच्च छ, अनि कतिपयले त्यससँग जुझ्न धेरै खाने गर्छन्,” पोषणविद् प्रिया तिउले बताइन्। थोरै बढेको तौललाई लिएर थप चिन्ता गरेमा त्यो तनाव झन् बढ्ने उनले चेतावनी दिइन्।
“हामीलाई थाहा छ अहिले मानिसहरूको मानसिक स्वास्थ्य पनि धरमराएको छ। अरू बेलामा सहयोग गर्ने वस्तुसम्म अहिले उनीहरूको पहुँच पनि छैन। त्यसैले हामीले उनीहरूलाई थप तनाव हुने वा दोषी भावना उत्पन्न गराउने काम गर्नबाट सजग हुनुपर्छ,” उनले भनिन्।
खानेकुराबारे चासो लिएमा त्यसले तौलको आँकडाभन्दा स्वास्थ्य र पोषणमा बढ्ता ध्यान केन्द्रित गराउँछ।
खानपान स्वस्थ्य बनाउने उपाय के?
“आफ्नो खानामा के थप्न सकिन्छ, नकि के झिक्न सकिन्छ, भन्ने कोणबाट सोचौँ,” प्रियाले बताइन्। “खाना कम गरेर वा नकारात्मक सोचेर भन्दा आज म थप फलफूलको अंश खानेछु भन्ने सोचेमा त्यसले सकारात्मक लक्ष्य दिलाउँछ। अनि त्यसो हुन सकेन भनेपनि ठूलो विषय बन्दैन।”
“के मैले पर्याप्त फलफूल वा तरकारी खाइरहेको छु? के मलाई पुग्दो प्रोटिन, गेडागुडी तथा कार्बोहाईड्रेट मिलिरहेको छ? यस्ता प्रश्नमा घोत्लिऊँ। अनि बेलाबेला केकका टुक्राको पनि मजा लिऊँ।”
स-साना परिवर्तन गर्दै जान प्रिया सुझाउँछिन्। “म यति यो-यो परिवर्तन गर्छु भनेर लम्बेतान सूची बनाउनुको साटो आफूले सजिलै गर्न सक्ने थोरै परिवर्तन गरौँ। त्यसो गर्दा सफल भएको अनुभूति हुन्छ।”
“मैले त्यो चकलेट केक खानुहुँदैन भनेर सोच्यौँ भने झन् त्यो खान मन लाग्छ। र त्यो नखाँदा तपाइँ त्यसको साटोमा अर्थोक खान पुग्नुहुन्छ। खाना भनेको कुनै सजाय वा पुरस्कार होइन। त्यो त मिठो हुनुका साथै हाम्रो पोषण आवश्यकता हो।”
व्यायामले कति सहयोग गर्छ?
व्यक्तिगत प्रशिक्षक जाना भान डिक भन्छिन् सामान्य व्यायाम गर्न नपाएर मानिसहरू छटपटाएको उनले देखेकी छन्।
“लकडाउन लागु हुने समाचार सुनेपछि मैले त अब घरभित्र कसरी व्यायाम गर्न सकिएला भन्ने सोचेँ। सानो कोठामा रहँदा कसरी आफूलाई उत्प्रेरित गराउन सकूँला? मलाई डर लाग्यो किनभने म त व्यायामशाला तथा व्यायामकक्षा औधी रुचाउँथेँ,” उनले भनिन्।
“पहिलो साता निकै गाह्रो भयो। तर मैले छिट्टै आफूलाई सम्हालेँ। त्यसपछि कस्ता प्रशिक्षण गर्न सकिन्छ भन्ने निर्क्योल गरेँ। अहिले ठिक छ।”
सुरुमा अब के गर्न सकिएला र ? भन्ने भावबाट जानाले उपलब्ध अवस्थामै गर्न सकिने व्यायामतर्फ आफूलाई मोडिन्। अहिले पनि प्राय: मानिसहरू लकडाउनभन्दा पहिलेको अवधिमा उनीहरूले व्यायामसम्बन्धी भेट्टाएका लक्ष्य अब नभेट्टाउने हो कि भनेर चिन्तित भएको उनी पाउँछिन्।
प्रियाजस्तै जाना पनि मानिसहरू नयाँ वास्तविकताका माझ आफू स्वयंप्रति थप दयालु हुनुपर्ने बताउँछिन्। “मानिसहरू स्वयंप्रति नरम हुनुपर्छ। हामीहरू विश्वव्यापी महामारीका माझमा छौँ त्यसैले धेरै लक्ष्य नराखौँ। त्यसले नकारात्मक प्रभाव पार्छ। सम्भाव्य र यथार्थपरक नयाँ लक्ष्य राखौँ,” उनले भनिन्।
अनलाइनमा पाइने कतिपय भिडिओ सामग्रीले मानिसहरूलाई नौला व्यायाम गर्न सघाउने उनले बताइन्।
एकैपटक एक घण्टा व्यायाम गर्छु भनेर नसोच्न बरु बिहान चियाकफी पिएपछि १५ मिनेट व्यायाम गर्ने अनि दिउँसोको खानाखाने समयमा १५ मिनेट हिँड्ने र साँझ पनि त्यसै गर्ने गरे राम्रो हुने उनले बताइन्।
आफ्नै घरवरपर ताजा हावाका निम्ति हिँडडुल गरेमा त्यसले मानसिक स्वास्थ्यलाई पनि सहयोग पुग्ने जानाले बताइन्।
स्वास्थ्य सङ्कटले जन्माएका नकारात्मकता
अनिश्चयतापूर्ण अवधिले खानेकुरासँग अलि अस्वस्थ सम्बन्ध रहँदै आएका मानिसमा व्याकुलता थप बढाउँछ।
“कैयौँ मानिसहरूले आफ्ना व्याकुलता वा चिन्तासँग जुझ्ने उपायका रूपमा खानालाई लिँदै आएका थिए। तर अब व्यायामशाला जान नपाउँदा अनि पहिलेजस्तै खान नपाउँदा थुप्रै मानिसहरूमा तनाव बढेको छ,” खानपानसम्बन्धी विज्ञ किम्बर्ली विल्सनले भनिन्।
“मानिसहरू सामान्य अवस्थामा जस्तै अघि बढ्न चाहन्छन्। तर अहिले बिल्कुलै सामान्य अवस्था छैन।”
उनी उदाहरण दिन्छिन्: “यदि यस्तो बेला कोही अरूले मलाई एकदम तनाव भयो, म त आलु चिप्स वा बेक्ड बीन्स मात्र खान चाहन्छु भनेर भन्यो भने तपाइँले पक्कै पनि उसलाई त्यसले आनन्द दिन्छ भने त्यसै गर भन्नुहुन्छ होला। त्यसो हो भने त्यत्तिकै दया तपाइँ आफू स्वयंलाई पनि जनाउनुहोस्।”
यस्ता अप्ठेरा परिस्थितिमा थोरै दयाभाव राख्नुपर्नेमा उनले जोड दिइन्।
“सोच्नुहोस् तपाइँको स्वस्थ्य शरीरप्रति तपाइँ खुसी हुनुहुन्न? यही शरीरले तपाइँलाई यो विषम घडीबाट आफू र परिवारसहित पार पाउन मद्दत गरिरहेकोमा तपाइँ खुसी हुनुहुन्न?”
“एउटा उपाय छ जसलाई यथार्थवादी आशावादिता भनिन्छ। मैले मेरा ग्राहकहरूलाई सम्झाउँदा ‘कम्तीमा तपाईँ…’ भनेर वाक्य सुरु गर्छु। यसले शरीरका अन्य तमाम कमजोरीबाट तपाईँको ध्यान तपाइँको शरीरको सक्षमतातर्फ सकारात्मक रूपमा मोडिदिन्छ।” स्रोत : बीबीसी