दरबार हत्याकाण्ड भएको १९ वर्ष पुरा : वास्तविकता अझै रहस्यकै गर्भमा

काठमाडौ – राजा वीरेन्द्रको वंशै नाश हुने गरी दरबार हत्याकाण्ड भएको आज (सोमबार) १९ वर्ष पूरा भएको छ ।

२०५८ साल आजैका दिन अर्थात् जेठ १९ गते नारायणहिटी दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित उनका परिवारका सबै सदस्यको हत्या भएको थियो ।

गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र अधिराजकुमार धीरेन्द्र शाहको हत्या भएको थियो ।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते भएका थिए । जेठ १९ लाई नेपाली इतिहासमै कहालीलाग्दो दिनका रूपमा लिने गरिन्छ ।

घटनाको छानबिन गर्न तत्कालीन सरकारले गठन गरेको समितिले तयार पारेको प्रतिवेदनले गोलीकाण्ड तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेको थियो । तर यसलाई धेरैले पत्याएका छैनन् । अहिलेसम्म त्यो हत्याकाण्ड कसले र किन ग‍र्यो भन्ने वास्तविकता अझै रहस्यकै गर्भमा छ । सरकारले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रतिवद्दता जनाए पनि अहिलेसम्म कुनै कदम चालिएको छैन ।

वीरेन्द्रको वंश नाशपछि ज्ञानेन्द्र शाहले राजतन्त्र सम्हालेपनि धेरै समय टिक्न सकेन । ज्ञानेन्द्र शाह नै नेपालको अन्तिम राजा बने । माओवादी शसस्त्र युद्ध र ६२÷६३ को जनआन्दोलनपछि नेपाल गणतान्त्रिक मुलुक घोषणा भयो । त्यसपछि तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सपथ ग्रहणकै बेला दरबार हत्याकाण्डको रहस्य खोल्ने बताएका थिए । त्यसपछि भएका प्रधानमन्त्रीहरुले पनि दरबार हत्याकाण्डबारे नबोलेका भने होइनन् तर बोलीमा मात्र सिमित रहने नेताहरुलाई कसले पत्याउने १९ वर्ष वितिसक्दा पनि दरबार हत्याकाण्ड अझै रहस्यमय छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्