रविन श्रेष्ठ
नेपालमा २००७ सालमा भएको राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना पछि थुप्रै राजनीतिक परिवर्ननहरु भए । पञ्चायत, बहुदलीय शासन हुदै २०५२ सालदेखि नेपालमा १० वर्षे सशस्त्र जनयुद्ध नै भयो । यो सबै सामाजिक रुपान्तरणका लागि गरिएको थियो आम बुझाईमा । जनयुद्ध सुरु भएपछि समाजमा जातीय छुवाछुतको क्रम केहि घट्दै गयो, यदि कसैले जातीय छुवाछुत गरिहाल्यो भने तात्कालिन माओवादीले जनकारवाही गर्ने गर्दथ्यो । तात्कालिन विद्रोही माओवादी सँग २०६३ सालमा शान्ति सम्झौता भएपछि नेपालमा संविधान सभाको चुनाव भयो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकारको नेतृत्व सम्हाले ।उनको सरकार ढलेपछि एक पछि अर्को गर्दै जातीय छुवाछुतको नारा लगाउनेहरुले नै सरकारको नेतृत्व गरे तर संविधान जारी गर्न सकेनन् । फेरि २०७० सालमा संविधान सभाको चुनाव भयो, २०७२ सालमा नेपालमा संविधान बन्यो दक्षिण एशियाकै उत्कृष्ट ।
यस्ता थुप्रै राजनीतिक परिवर्तन गर्न सबै समुदायको उत्तिकै भूमिका रह्यो । तर सरकारमा पुगेपछि कसैले पनि परिवर्तका हिस्सेदार सबै नेपाली हुन् भन्ने कुरा क्रमशः विर्सिदै गएको जस्तो देखिन्छ । नेपालमा भएका सबै राजनीतिक परिवर्तन गर्न कुनै दलितको योगदान नै नभएको हो त ? के सत्तामा बसेका र धनी मानिसहरूले मात्रै देशमा परिवर्तन गरेका हुन् त ? गरिबहरुको कुनै योगदान नै नभएको हो त ? मनमा सयौँ हैन हजारौँ प्रश्न उब्जिए जब रुकुम पश्चिमको चौरजहारी घटनालाई सम्झिए । नेपाली हुनुमा गर्व हैन नेपाली हुनुमा दुःख लाग्छ । आखिर कहिले सम्म हामी जातीय छुवाछुतको मानसिकता कायम राख्छौँ ।
प्रेम गर्दा त जीवन हराभरा हुन्छ, आनन्दित हुन्छ, भविष्य राम्रो हुन्छ, जिन्दगी विताउन सजिलो हुन्छ भन्ने सुनेको थिए । तर नवराज विकको परिवारको खुसि एकै छिन पनि टिक्न सकेन । जुन प्रेम गर्दाको सजाय थियो । जाजरकोट र रुकुममा तिनै जातीय छुवाछुत विरुद्धको नारा लगाएर उनीहरुको अमुल्य मतले सिंहदरबार पुगेकाहरुलाई सोध्न चाहन्छु, प्रेम गर्दा दलित भएकै कारणले मर्नुपरेको हो ? वडा अध्यक्ष समेत घटनामा संलग्न छन् भन्ने समाचारहरु देखे र सोचे सायद ती वडा अध्यक्ष पनि त्यहि जातीय छुवाछुत अन्त्यको नारा लागउने मध्येका होलान् । हो सबैको आ–आफ्नो आत्मसम्मान हुन्छ तर ज्यान नै मार्नु त अपराध हैन र ? जातीय छुवाछुत विरुद्धकै नारा लगाउनेहरुको पकड भएको क्षेत्रमा यस्तो घटनाहुन निन्दनीय र अक्षम्य छ । सरकार दोषीहरुलाई कारवाही भएको कहिले देख्न पाइन्छ ?