काठमाडौँ – नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब पार्टी आन्दोलन अघि बढ्न नसक्ने निष्कर्ष निकालेको छ । चैत २४ गते जोरपाटीमा बसेको विस्तारित बैठकले पार्टी अब नेतृत्व हस्तान्तरण मात्र नभई पुस्तान्तरणकै दिशामा जानुपर्ने ठहर गरेको हो । बैठकमा केन्द्रीय सदस्यदेखि वडा तहसम्मका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।
निर्वाचन समीक्षा गर्दै काठमाडौंमा पार्टीले एक सिट पनि जित्न नसकेको, युवापंक्ति आकर्षित गर्न नसकेको, नेतृत्वप्रति आक्रोश बढेको तथा जनभावना बुझ्न नसकिएकोजस्ता कारण औंल्याइएको छ । प्रतिवेदनमा कांग्रेससँगको गठबन्धनको औचित्य पुष्टि गर्न नसक्नु, भ्रष्टाचार र सुशासनका मुद्दामा स्पष्टता नहुनु, सामाजिक सञ्जाल नियन्त्रणजस्ता विषयले पनि नकारात्मक असर परेको उल्लेख छ ।
त्यस्तै, एउटै पुस्ताको नेतृत्व दोहोरिनु, नयाँ दललाई कमजोर आँक्नु, पार्टीभित्रको समूहबन्दी र कमजोर संगठन परिचालनका कारण पनि हार व्यहोर्नुपरेको निष्कर्ष निकालिएको छ । काठमाडौं एमालेले पार्टी सञ्चालनमा व्यक्तिकेन्द्रित प्रवृत्ति बढेको, जनतासँग दूरी बढेको र संगठनात्मक कमजोरी देखिएको भन्दै सुधार आवश्यक रहेको जनाएको छ ।
जिल्ला कमिटीले तयार पारेको सुझावसहितको प्रतिवेदन प्रदेश र केन्द्रीय कमिटीमा बुझाउने तयारी गरिएको छ । साथै पार्टीलाई जनअपेक्षा अनुरूप पुनर्गठन र पुनर्संरचना गर्नुपर्नेमा जोड दिइएको छ ।







