काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलुरुले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल)मा प्रभावशाली जित निकालेको छ । मुम्बईमा गएराति पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ४ विकेट गुमाएर २४० रन बनाएको थियो । आरसिबीका फिल साल्टले ३६ बलमा ७८ रन बनाउँदा रजत पाटिदारले पनि महत्वपूर्ण योगदान दिएका थिए ।
२४१ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन मात्र बनाउन सक्यो । मुम्बईका शेरफेन रदरफोर्डले अविजित ७१ रन बनाए भने हार्दिक पाण्ड्याले ४० रन जोडे । आरसिबीका सुयश शर्माले २ विकेट लिए । यस्तै, अर्को खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको छ । पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।
जवाफमा गुजरातले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । गुजरातका प्रसिद्ध कृष्णाले ४ विकेट लिए भने कप्तान शुभमन गिलले अर्धशतक प्रहार गर्दै टोलीलाई जित दिलाए । आईपीएलअन्तर्गत आज बेलुकी सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।







