हर्मुज जलमार्गमा अमेरिकी नाकाबन्दी घोषणा, तेल तथा ग्यास आपूर्तिमा फेरी अस्थिरता

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले हर्मुज जलमार्गमा नाकाबन्दी गर्ने घोषणा गरेको छ । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मार्फत आज दिउँसोदेखि उक्त जलमार्गमा सबै जहाजहरूको आवागमन नियन्त्रण गरिने बताएका हुन् ।  अमेरिकी सेनाका अनुसार इरानबाहेक अन्य देशका बन्दरगाहतर्फ जाने वा आउने जहाजहरूलाई भने अवरोध नगर्ने जनाइएको छ । तर, इरानसँग सम्बन्धित वा शुल्क तिरेर हर्मुज पार गर्ने जहाजहरूलाई रोक्ने र जाँच गर्ने नीति अपनाइने बताइएको छ ।

हर्मुज विश्वकै महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो, जहाँबाट करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने गर्दछ । यस क्षेत्रमा अवरोध हुँदा विश्व बजारमा तेलको मूल्य वृद्धि र आर्थिक अस्थिरता निम्तिने जोखिम रहेको विश्लेषकहरूले बताएका छन् । यसैबीच अमेरिका र इरानबीच इस्लामावादमा भएको उच्चस्तरीय शान्ति वार्ता असफल भएपछि तनाव थप चुलिएको छ । ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम त्याग्न अस्वीकार गरेको आरोप लगाएका छन् भने इरानी पक्षले अमेरिका अत्यधिक माग राखेकाले सहमति हुन नसकेको दाबी गरेको छ ।

इरानको सेनाले हर्मुज क्षेत्रमा कुनै पनि सैन्य गतिविधि बढेमा त्यसलाई युद्धविराम उल्लङ्घन मान्दै कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ । विज्ञहरूले यस अवस्थाले विश्वव्यापी ऊर्जा संकट गहिरिनुका साथै अन्तर्राष्ट्रिय व्यापार र आपूर्ति शृङ्खलामा गम्भीर असर पार्न सक्ने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्