काठमाडौँ – नेपाली भाषा, साहित्य, संस्कृति र कलाको प्रवर्द्धनमा क्रियाशील अनलाइन दैनिक साहित्यपोस्ट र नेरिक एकेडेमीबीच साहित्यिक तथा शैक्षिक सहकार्यका लागि महत्त्वपूर्ण समझदारी भएको छ ।
पठन संस्कृति विकास र विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले दुई संस्थाबीच चार बुँदे समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । सहमति अनुसार साहित्यपोस्टको (इ) पुस्तकालयका पुस्तक तथा अन्य शैक्षिक सामग्री विद्यालयले न्यूनतम शुल्कमा प्राप्त गर्नेछ । साथै विद्यालयका साहित्यिक तथा सांस्कृतिक गतिविधिहरूलाई साहित्यपोस्टले प्राथमिकताका साथ प्रकाशन गर्नेछ । शिक्षक तथा विद्यार्थीलाई आवश्यकताअनुसार लेखक–कविहरूसँग प्रत्यक्ष भेटघाट गराउने वातावरण पनि मिलाइने जनाइएको छ ।
नेरिक एकेडेमीका प्रधानाध्यापक मिलन कडेलले यस सहकार्यले विद्यार्थीलाई प्रविधि र साहित्यसँग जोड्दै सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले विद्यालय स्तरबाटै नयाँ पुस्तामा नेपाली भाषा र साहित्यप्रति रुचि जगाउने उद्देश्यले यो सहकार्य गरिएको जानकारी दिनुभयो ।







