आइतवार ओपीडी सेवा दिन सकिदैन: चिकित्सक संघ

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार पनि बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न दिएको निर्देशनप्रति नेपाल चिकित्सक सङ्घले आपत्ति जनाएको छ ।

सरकारले दुई दिन सार्वजनिक बिदा लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले मन्त्रालयले अस्पतालहरूलाई आइतवार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । अस्पतालहरूलाई आफ्नो कार्यभारअनुसार सेवा सञ्चालन गर्न र सट्टा बिदा मिलाउनसमेत भनिएको थियो ।

तर सङ्घले विज्ञप्ति जारी गर्दै पर्याप्त जनशक्ति अभाव र बढ्दो कार्यभारका कारण उक्त निर्देशन कार्यान्वयन गर्न कठिन हुने जनाएको छ । चिकित्सकहरू नियमित समयबाहेक ‘अनकल’, ‘राउन्ड’ र आकस्मिक सेवा सहित २४सै घण्टा खटिँदै आएको उल्लेख गर्दै त्यसको उचित गणना नहुनु अन्यायपूर्ण भएको सङ्घको भनाइ छ ।

यसबीच विभिन्न अस्पतालहरूले फरक–फरक निर्णय गरेका छन् । त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ले आकस्मिक सेवा बाहेक आइतवार ओपीडी बन्द गर्ने निर्णय गरेका छन् ।

यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र भरतपुर अस्पताल ले भने आइतवार पनि सेवा सञ्चालन गर्ने जनाएका छन् ।

सङ्घका अनुसार विभिन्न संस्थामा फरक–फरक दिन बिदा हुँदा सेवाग्राही अन्योलमा पर्ने र स्वास्थ्य सेवा प्रवाहमा असर पर्ने जोखिम छ । साथै न्यून सुविधा दिँदै जबरजस्ती काम गराउने प्रवृत्ति अन्त्य नभए चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्