काठमाडौँ- भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्का (बिस्केट) जात्रा आजदेखि सुरु भएको छ। तौमरीस्थित पाँचतल्ले मन्दिर परिसरबाट भैरवनाथ (भैलखः) र भद्रकालीको रथ तानेर जात्राको विधिवत् शुरुआत गरिएको हो।
नौ दिन आठ रातसम्म चल्ने जात्रामा भैलखः तानातान, यसींद्यो (लिङ्गो) उठाउने र ढाल्ने, विभिन्न देवदेवीको पूजा तथा परम्परागत जात्राहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। नयाँ वर्षको पूर्वसन्ध्यामा यसींद्यो उठाउने र वैशाख १ गते ढाल्ने परम्परा रहेको छ।
जात्रालाई व्यवस्थित र सुरक्षित बनाउन यस वर्ष दिउँसै सञ्चालन गर्ने तयारी गरिएको छ। सम्भावित झडप रोक्न तथा दुर्घटना न्यूनीकरण गर्न करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएका छन्।








