पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि, पेट्रोल २१९ रुपैयाँ पुग्यो, ग्यासको मूल्य समेत बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाइएको हो । नयाँ दरअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि भई २१९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ वृद्धि भई प्रतिलिटर २०७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले बढाएर २०१० रुपैयाँ पुर्‍याइएको छ । हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ४ रुपैयाँ वृद्धि भई २५७ रुपैयाँ कायम भएको छ । निगमका अनुसार मध्यपूर्व मा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको हो ।

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिए पनि घाटा न्यूनीकरण हुन नसकेपछि मूल्य बढाउनुपरेको निगमले जनाएको छ । मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा हुने दाबी गरिएको छ । साथै, उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन निगमले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्