लेबननमा इसराइलको अहिलेसम्मकै भीषण हमला, सयौँको मृत्यु

काठमाडौं – इसराइलले लेबननमा अहिलेसम्मकै भीषण हमला गरेको छ । गएराति लेबननको राजधानी बेरूतमा पूर्वचेतावनीबिनै गरिएको आक्रमणमा ठूलो मानवीय क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रोयटर्सका अनुसार आक्रमणमा २५० भन्दा बढीको मृत्यु भएको छ भने ११ सयभन्दा बढी घाइते भएका छन् ।

त्यस्तै एशोसिएटेड प्रेसले भने कम्तीमा १८२ जनाको मृत्यु भएको जनाएको छ । हिजबुल्लाहले उक्त आक्रमणलाई फेब्रुअरीयता जारी युद्धकै सबैभन्दा घातक दिन भएको उल्लेख गरेको छ । यो हमला अमेरिका र इरान बीच युद्धविराम घोषणा भएको केही घण्टामै भएको हो । दक्षिणी लेबनन, बेरूत र बेका भ्यालीमा १० मिनेटभित्रै १०० भन्दा बढी स्थानमा आक्रमण गरिएको जनाइएको छ ।

आक्रमणपछि राजधानीका विभिन्न स्थानबाट कालो धुवाँ उडेको, एम्बुलेन्सहरू घाइते उद्धारमा खटिएको तथा सडकमा जलेका शवहरू देखिएको विवरण सार्वजनिक भएका छन् । उद्धारकर्मीहरूले भग्नावशेष हटाउँदै जीवितको खोजी गरिरहेका छन् । इसराइलले युद्धविराममा हिजबुल्लाह समावेश नहुने बताउँदै आएको छ । तर मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानले भने युद्धविराममा सबै पक्ष समेटिने बताएको थियो ।

डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई समर्थन गरे पनि लेबननको अवस्था अलग रहेको बताएका छन् । लेबनन सरकारका उच्च अधिकारीहरूले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भन्दै कडा आलोचना गरेका छन् भने स्थानीयहरूले आक्रमण भएका अधिकांश स्थान आवासीय क्षेत्र भएको दाबी गरेका छन् । यसैबीच, इसराइलले हिजबुल्लाहका नेता नाइम कासेमलाई निशाना बनाइएको जनाएको छ । आक्रमणपछि इरान ले पुनः स्ट्रेट अफ होर्मुज मा जहाज आवागमन बन्द गर्ने घोषणा गरेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्